Paschim Express
आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्चिममा दुई दिन बिदा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व गौराको रौनक छाएको छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको डेउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । गौरा पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ-आफ्नै चलन अनुसार गर्ने गरिन्छ । 

यस्तै गौरा पर्वको अवसरमा नेपाल सरकारले सुदूरपश्चिम क्षेत्रमा बिदा दिएको छ । प्रदेश सरकारले थप एक दिन ११ गते पनि बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेशको राजपत्रमा प्रकाशित मन्त्रीपरिषद्को निर्णयअनुसार ११ गते नेपाल सरकारले गौरा पर्वमा दिएको बिदाबाहेक थप एक दिन बिदा हुने उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update