Paschim Express
गौरा विसर्जन गर्न परराष्ट्रमन्त्री राणा धनगढी आउँदै

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । मन्त्री राणा भोलि बिहान धनगढी पुग्ने कार्यक्रम तय भएको हो । 

नेपाल काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालका अनुसार सुदूरपश्चिमको मौलिक पर्व गौराको समापन कार्यक्रमका लागि मन्त्री राणा धनगढी आउन लागेकी हुन् । मन्त्री राणाको धनगढीस्थित निवासमा भित्र्याइएको गौरा विसर्जन गर्ने कार्यक्रम रहेको पडालले जानकारी दिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाले पछिल्लो सात वर्षदेखि गौरा धनगढी पुगेर मनाउदै आएकी छिन् । ०७४ सालको निर्वाचनअघि उनले धनगढीमा घर किनेकी थिइन् ।

वर्षौं पहिले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मटेलामा पनि देउवाकै घरमा गौरा भित्र्याउने गरिएको थियो । अहिले देउवा परिवारले धनगढीस्थित देउवाको घरमा गौरा भित्र्याउने गरेका छन् ।

यस्तै क्षेत्रीय सभापति पडालले मन्त्री भएपछि आरजु पहिलोपटक गृह प्रदेश आउने कार्यक्रम तय भएकोले स्वागतको तयारी भइरहेको बताए । भोलि गौरा देवीको विसर्जन गरेपछि पार्टीका अन्य पदाधिकारीसँग भेटघाट गर्ने र धनगढी उपमहानगरपालिका-४ को वडा कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति पडालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update