Paschim Express
डडेल्धुरामा निकालियो डोलजात्रा

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा मंगलबार डोल जात्रा निकालिएको छ । कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि डडेल्धुराका स्थानीय बासिन्दाले निरन्तरता दिएका हुन् । कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ ।

विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रममा गरिएको छ । कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ । 

खासगरी डोल जात्रालाई पनि हिन्दू धर्माबलम्वीले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउँछन् । डोल जात्राको पछाडि एउटा पौराणिक कथा पनि छ ।

कुनै समय मेढासुर नाम गरेको एउटा ठूलो अत्याचारी र शक्तिशाली राक्षस थियो। राक्षस बृन्दावनवासीलाई विषेश रुपमा सताउने गर्दथ्यो ।

बृन्दावनवासीले भगवान् श्री कृष्णलाई त्यस अत्याचारबाट मुक्ति दिलाउन अनुरोध गरे । त्यसपश्चात श्री कृष्णले बृन्दावनवासीको रक्षा गरेका थिए भन्ने मान्यता रहिआएको छ । त्यसकारण उनीहरुले कृष्णको स्वागतका लागि राधिकासँग जुलुस निकाले। त्यसैको सम्झनामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र राधिकाको जोडीलाई झुलाएर डोल यात्रा गर्ने प्रचलन रहिआएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update