कैलाली । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छिन् । गौरा पर्व मनाउन धनगढी पुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन् ।
उनले गौरा पर्वलाई समृद्धिको पर्वको रूपमा समेत रहेको बताइन् । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढीस्थित घरमा आउने गरेको बताउँदै उनले भनिन् ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजाअर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’
शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताइन् र गौराले सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताइन् ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए । उनी निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरूले डेउडा खेल्नुका साथै तथा गौरा पर्व सम्बन्धी फाग, अठेवाली समेत गाएका थिए । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।