Paschim Express
गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसंग कुरा भएको छ : परराष्ट्रमन्त्री राणा

डडेल्धुरा । कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीसंग सीमा जोडिएको गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसंग कुरा भएको बताएकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भवन उद्धघाटन गदै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

‘भर्खरै भारत भ्रमणबाट फर्किएर आएकी हुँ,’ मन्त्री राणाले भनिन्, ‘गौरीफन्टा धनगढीको भविष्यका लागि सबैभन्दा महत्वपूर्ण छ । नाकाको स्तरोन्नतिका लागि भारत भ्रमणका क्रममा कुराकानी भएको छ । भारतीय पक्ष पनि यसमा सकारात्मक देखिएको छ ।’ 

एक सय १८ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीसँग जोडिएको नाका हो । तर, उक्त नाका अहिलेसम्म कामचलाउ अवस्थामा मात्रै सञ्चालन भइरहेको छ । सन् १९२० देखि गौरीफन्टा–मैलानी रेलवे सेवासमेत सञ्चालन भएको थियो ।

तर, दुधुवा नेशनल पार्कमा रहेका वन्यजन्तुलाई असर पुगेको भन्दै संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब दिएपछि भारतले १९९४ मै रेलवे सेवा बन्द गरेको थियो । गौरीफन्टादेखि मैलानीसम्म ७४ वर्षसम्म रेल चलेको थियो । भारतले यो मार्गमा पुनः रेल चलाउने भन्दै ९ वर्षअघि प्रक्रिया अगाडि बढाएको थियो तर अहिलेसम्म रेल सञ्चालन भइसकेको छैन । 

यस्तै परराष्ट्रमन्त्री राणाले धनगढीमा फाप्ला क्रिकेट मैदानको निर्माणका लागि पनि भारतसंग छलफल भएको बताएकी छिन् । ‘फाप्ला मैदान निर्माणका लागि काम भइरहेको पनि छ,’ उनले भनिन्, ‘मैदान निर्माणमा भारतले पनि सहयोग गर्ने आश्वासन दिएको छ । मैले नेपाल सरकारका खेलकुद मन्त्रीसंग पनि यस विषयमा कुराकानी गरेकी छु ।’

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update