Paschim Express
म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री राणा

धनगढी । नेपाली काँग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् ।

कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । `देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ,´ उनले भनिन्, `सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौं ।´

मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको जिज्ञासामा उनेले भनिन्, `बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।´

उनले काग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।

परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाई थियो । `सबै देश नेपालप्रति सकारात्मक छन्,´ उनले भनिन्, `तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौं ।´

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update