Paschim Express
खगराजलाई संसदीय दलको नेता बनाउन  प्रचण्डले दिए चौथोपटक निर्देशन

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराज भट्टलाई बनाउन चौथोपटक निर्देशन दिएका छन् । धनगढीमा बसेकाे पार्टीकाे परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका हुन् ।

`यसअघि नै अध्यक्ष र महासचिवबाट खगराजलाई दलको नेता बनाउन सर्कुलर भइसकेको हो,´ अध्यक्ष प्रचण्डले भने, `उक्त सर्कुलर तत्काल कार्यान्वयन हुन्छ । त्यसका लागि यो बैठकले निर्देशनात्मक निर्णय पनि गरेको छ ।´

अब दलको बैठकबाट खगराजलाई दलको नेता बनाउने निर्णय गरिने बताइएको छ । १२ माघ २०८०देखि नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ । सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

बहुमत सदस्यहरूले त्यतिबेला प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेका थिए । भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । 

त्यसको ५ महिनापछि असार पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उनले पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिएका थिए ।

त्यसपछि प्रचण्डले लिखित रूपमै खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । २ भदौमा नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए ।  तर, प्रचण्डको निर्देशन सुदूरपश्चिमका सांसदले टेरेका थिएनन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update