Paschim Express
पहिरोका कारण अवरुद्ध अछामको साँफे–मार्तडी सडक

अछाम । अछामको साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगरमा ठुलो पहिरोका कारण सडक अवरुद्ध भएको हो । बुधवार राति करिब तीन सय मिटर जति सडक भन्दा माथिबाट पहिरो आएपछि आवतजावतमा रोक लागेको हो ।

निरन्तर पहिरो खसिरहेकोले बाटो खुलाउन जोखिम भएकोले पहिरोको वारिपारि सवारी साधन रोकिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । पहिरो खस्ने क्रम रोकिएसँगै उज्यालो भएपछि सडक सुचारु गर्ने तयारी भइरहेको भण्डारीको भनाइ छ ।

सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिर जिल्ला जाने र बाजुरा जिल्ला जाने सवारी साधनसँगै यात्रुहरूलाई सास्ती भएको छ। साँफे–मार्तडी सडकमा वर्षाको समयमा पहिरोको कारण सडक अवरुद्ध हुँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update