Paschim Express
स्वास्थ्य बीमालाई पाँच लाख पुर्‍याउँछौँः स्वास्थ्यमन्त्री

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउने बताएका छन् ।

कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले संघ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई पाँच लाख पुर्याउने जानकारी दिए ।

मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिए ।

उनले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा राखे । मन्त्री पौडेलले भने, ‘जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्नु हुँदैन, जनतालाई लोकतन्त्रको महसुस गराउन स्वास्थ्य सेवासुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनुपर्छ, आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नुपर्छ ।’

उनले कोशी अस्पतालको सेवा भद्रगोल भएकामा चिन्ता व्यक्त गर्दै जनताको सेवासुविधालाई मन्त्रालयले बनाएको नियम, कानुन र नीतिको पालन गर्न निर्देशन दिए । मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा हो भन्दै अस्पतालले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता ‌‍औँल्याए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा कायम गर्नुपर्नेमा जोड दिए ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना ६ देखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले जानकारी दिए । कोशी अस्पतालले विसं २०७२ देखि अर्बुद रोगको उपचार गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update