Paschim Express
माओवादी संसदीय दलका नेता धामी भन्छन्– केन्द्रको निर्देशन सिधै कार्यान्वयन हुँदैन, छलफल हुन्छ

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्न चौथोपटक दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने देखिएको छ ।

कैलालीको धनगढीमा भएको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले बिहीबार खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । तर, संसदीय दलका नेता मानबहादुर धामीले केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

`डाइरेक्ट निर्देशन त कसरी कार्यान्वयन गर्न सकिन्छ,´ धामीले भने, `दलको बैठक आह्वान भएपछि छलफल होला । तर, अहिले त बैठकसमेत आह्वान भएको छैन ।´ नेता धामीले दलको बैठक बोलाउनका लागि प्रदेशसभा सदस्यहरुले आग्रह नगरेको बताए । `प्रदेशसभा सदस्यज्यूहरुले बैठक बोलाउन आग्रह नै गर्नुभएको छैन,´ धामीले थपे, `बैठक भएपछि केन्द्रको निर्देशनबारे छलफल हुन्छ । दलको नेता परिवर्तन नै गर्नुपरे पनि प्रक्रियामा जान्छ । समय लाग्छ ।´

१२ माघ ०८० देखि नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ । सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गर्दै धामीलाई नेता चयन गरेका थिए । भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । 

त्यसको ५ महिनापछि असार पहिलो साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिए ।

त्यसपछि प्रचण्डले लिखित रुपमै खाराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । भदौ २ गते दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update