Paschim Express
भारतले पुनः खोल्दै धौलीगंगा बाँध , सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी-  भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ । बाँध खोलेका बेला र केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो। यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update