Paschim Express
ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो, गोली हान्न हुँदैनथ्यो : देउवा

काठमाण्डौं । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार काठमाण्डौंमा आयोजित एक समारोहमा ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरेका हुन् । उनले उपाध्यायको पुस्तक भोलिको पुस्ताका लागि अध्ययन सामग्री हुने बताए ।

पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना उल्लेख गरे । धनगढीबाट नेपालगञ्ज जादै गरेका पूर्व प्रधानमन्त्री देउवालाई २०५९ साल भदौ ८ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले कैलालीको आमखैयामा आक्रमण गरेको थियो । पुस्तकमा समेटिएको देउवामाथिको त्यो आक्रमण शिर्षकको लेखका विषयमा बोल्दै देउवाले भने, ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो ।’ उनले तत्कालीन माओवादीले ४० बुँदे माग बुझाए पनि वार्ताका लागि तयार नभएको बताए । पछि कांग्रेसकै नेतृत्वमा मुलुकमा शान्ति आएको चर्चा गरे ।

उनले भने, ‘हामी सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक शान्ति प्रक्रियामा र संविधानसभाबाट संविधान जारी गर्दै गणतन्त्र व्यवस्थामा आएका छौँ । अहिले संविधानलाई पनि अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिन्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । यसलाई सुदृढ गर्ने र सुधार गर्दै लैजाने सकिन्छ ।’ 
देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताए ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । 

संविधानमा केही कमीकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रूपमा पास भई राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलेको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण विषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए  । पुस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा सुदूरपश्चिममा व्यक्तिकेन्द्रित हत्या हुन नदिएको दाबी गरे । 

उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गर्दै भने, ’त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको देखिन्छ ।’ 

पुस्तकमा उल्लेख डोटीको छेडा घटना स्मरण गर्दै उनले भने, ‘लगभग २५ जना मारिएका थिए। जसमा पाँचजना गाउँले थिए। बाँकी माओवादी कार्यकर्ता थिए। दुईजना भर्खरका युवतीको बलात्कार गरिएको थियो । त्यो तत्कालीन राज्यपक्षबाट घटाइएको घटना थियो ।’

पुस्तकबारे चर्चा गर्दै कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पुस्तकले द्वन्द्वकालमा भएका घटनाको दस्ताबेजीकरण गरेको भन्दै आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरूका लागि स्रोत सामग्री बन्ने बताए । 

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरूका लागि उपहार भएको धारणा राखे।पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार कुन्द दीक्षितले यो पुस्तक द्वन्द्वलाई फेरि दोहोरिन नदिन सहयोगी हुने बताए । 

आफूलाई मार्न खोज्नेसँगै शान्ति प्रक्रिया अघि बढ्नु सफलता मान्न सकिने दीक्षितको भनाइ थियो ।पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार बबिता बस्नेतले द्वन्द्वकालमा भएका घटनाको फेहरिस्त पुस्तकमा रहेको बताइन् । उनले भनिन्, ‘द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ ।’

पुस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्ताबेज भएको बताए । यो पुस्तक द्वन्द्वका १० वर्ष, राजाको कु र शान्ति प्रक्रियापछिको संक्रमणकालमा पत्रकार र पत्रकारिता क्षेत्रले भोगेका चुनौती, पीडा, अनुभवहरूको सँगालो हो उनले सुनाए,  केही आफ्नै अनुभव छन् । केही महासंघको नेतृत्वदायी भूमिकामा रहँदा पत्रकारहरूको हकहित र आन्दोलनका प्रसंगहरू छन् ।  यो पुस्तक त्यो समयको पत्रकारिताको साक्षी हो, जसले युद्ध भोग्यो, जसले राजाको कु व्यहो¥यो, जसले द्वन्द्वपछि संक्रमणकाल भोग्यो । यो त्यो पत्रकारिताको त्यो कालखण्ड भोगेको हरेक पत्रकारको अनुभव हो । पुस्तक संगम बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update