Paschim Express
बाजुरा अस्पतालमा सिटामोल पनि छैन

बाजुरा।  जिल्ला अस्पताल बाजुरामा सिटामोल अभाव भएकाे छ । जसकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए ।  जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको उनले बताए ।

सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए ।  निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै जवाफ दिएपछि आफूले निजी मेडिकलबाट औषधि किनेर ल्याएको उनले बताए  ।

जिल्लाका ९ वटै स्थानीय तहका साथै कर्णालीका हुम्ला, मुगु र कालीकोटका बासिन्दा पनि उपचारका लागि बाजुरा आउने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष औषधि खरिदका लागि १० लाख रुपैयाँ दिएको थियो। तर, उक्त बजेट अघिल्लो आर्थिक वर्षमै अपुग भएको अस्पताल प्रशासनको भनाइ छ ।

उक्त रकमबाट औषधि खरिद सँगै अस्पतालमा दैनिक प्रयोग गरिने एन्टी सेप्टी, बेटाडीनलगायतका औषधि खरिद गर्दा झनै अपुग भएको प्रशासनको भनाइ छ । यस वर्ष भने प्रदेश सरकारले औषधि खरिदका लागि  बजेट दिएको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update