Paschim Express
सुदूर पहाडका दुई जिल्लामा अब नियमित उडान, अन्य जिल्लामा के हुँदैछ ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा मंगलबारदेखि उडान नियमित हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने भएको हो । धनगढी विमानस्थलका सूचना अधिकारी दीपक भट्टका अनुसार दुबै जिल्लामा पाँच महिनादेखि उडान बन्द रहेकोमा मंगलबारदेखि उडान भर्ने जानकारी प्राप्त भएको बताए ।

‘हप्ताको दुई दिन सोमबार र बिहीबार उडान हुने जनाइएको छ,’ भट्टले भने, ‘नेपालगञ्ज–हुम्लाको सिमकोट उडान भरेर जहाज धनगढी आउने छ । धनगढीबाट बझाङ पुगेर फेरि धनगढी फर्कनेछ । त्यसपछि धनगढी–साँफे उडान भर्ने छ ।’

२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो । द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो । झन्डै एक दशकपछि ०७५ सालबाट आंशिक रूपमा सञ्चालन हुन थालेको बझाङ विमानस्थल ०८० चैतदेखि भने पूर्ण रुपमा बन्द भएको थियो । 

यस्तै, अछामको साँफे विमानस्थल पनि ०८० चैत अन्तिम सातादेखि बन्द छ । यी दुबै विमानस्थलमा अन्तिमपटक निजी क्षेत्रको समिट एयरले नै उडान गरेको थियो । ०७८ कात्तिकमा बाढीपहिरोका कारण सुदूरपश्चिमको सडक यातायात विच्छेद भएका बेला नेपाल एयरलाइन्सले पनि बझाङ र साँफेबगरमा केही महिना उडान गरेको थियो । दुवै स्थानमा कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगन्जसम्म हवाई सेवा दिएको नेपाल एयरलाइन्सले अहिले दुवै ठाउँका कार्यालयसमेत बन्द गरिसकेको छ । द्वन्द्वकालमा माओवादी आक्रमणमा ध्वस्त भएका दुबै विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ भने टर्मिनल भवन पनि प्रविधियुक्त बनाइएको छ । 

यस्तै, बैतडीको पाटन विमानस्थलमा पनि हवाई सेवा बन्द भएको साढे दुई वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा ०७८ चैतदेखि बन्द भएको हो । उक्त विमानस्थलमा पनि केही समय समिट एयरले नै उडान सेवा दिएको थियो । 

डोटीको दीपायल विमानस्थलमा पनि ०७७ साल असोज १७ गते समिट एअरलाइन्सले परीक्षण उडान गरेको थियो । उडान परीक्षण पश्चात् केही समय समिट एयरले निरन्तरता दिएको थियो । दीपायल विमानस्थलको स्तरोन्नति भइ कालोपत्र भएको चार वर्ष बितिसक्दा पनि हवाई उडानले निरन्तरता पाउन नसकेको हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update