बुवा भन्नुहुन्छ
बाबु तिम्रो साथमा बस्न सकिन ।
सायद मैले चाहँदा चाहँदै पनि
बस्न पाएन
मेरो केही चलेन ।
तिम्रो हर खुसीमा रमाउन सकिन
दैनिकीसँग खेल्न सकिन
रहरलाई सम्बोधन गर्न सकिन
बाल सुलभतालाई अभिभावकत्व दिन पाएन।
बाबु तिम्रो
विश्वास, प्रेम र भरोसा
सम्झना, तटस्थता अनि सद्भाव
दिनै पाइन ।
बुवा मेरो मानसपटलमा
झल्झल्ती सपना जस्तै छन्
बाल चञ्चलता
तत् समयको स्मृति जेजति रह्यो
त्यही बुवा स्मरणको
बाल्यकालको अन्तिम सन्देश रह्यो ।
मानव जातिको इतिहासमा
बुवालाई अथाह सागर मानिन्छ
त्यस्तै मेरा लागि पनि
भरोसा, विश्वास, आत्मसम्मान
अनि विश्वविद्यालय ।
मेरा लागि तीर्थ,भगवान
अनि एक प्रतीक
सुदूर भविष्यको सम्भावना पनि
विश्वास, प्रेम, तटस्थता र सम्झना
सबै थोक थिए बुवा ।
हिजो राति जस्तै लाग्ने
बुवाको अन्तिम स्वर "वसन्त"
मेरा लागि सपना जस्तै छ
तीन दशक बित्नै लाग्दा पनि
ताजै जस्तो लागेको छ ।
एकाएक बुवासँगको
अन्तिम सम्बाद पुरावृति भयो
राति अनायास सम्बाद दोहरियो।
बुवाको मुख हेर्ने दिन भएर होला ।
तीन दशक टेक्दै गरेको
बैकुण्ठको यात्राबाट
सत्मार्ग, सत्कर्मका लागि
सजग गराएको हुनुपर्छ ।
जन्मदाता मात्र होइनन्
विश्वास र आकाशका प्रतीक थिए ।
सपना हो बा बिपना झस्कायो
निन्द्राबाट बिउझिए
निन्द्राले छोडेपनि तन्द्राले छोडेन
अभिभावकले सम्झाउनु पनि पर्छ
प्रत्यक्ष त्यो अवसर नपाए पनि
बुवाको नामलाई दाग लाग्न दिने छैन
सपनाको अनुहारलाई सम्झदै
प्रण गर्छु
मलाई देखाएको सत्मार्गबाट
रत्तिभर बिचलित हुने छैन
गोलोक बास होस
आशीर्वाद, दयादृष्टि पाईराखु
अन्तिम साक्षात्कार र
सपनीको साक्षात्कारको
पूरा फेहरिस्त सामाजिक सञ्जालमा त दिन सक्दैन ।
सतमार्गमा बिचलित हुने छैन
बाटो बिराउने छैन
कर्तव्य पथमा निरन्तर
यात्रा मै हुनेछु ।