डडेल्धुरा । ‘तेल्याको धर्मशाला रामशिलाको पानी’ डोटी, डडेल्धुरा मात्र होइन सुदूरको लोक संस्कृतिमा सर्वाधिक गाइएको यो गीत युग बितिसक्दा पनि उत्तिकै लोकप्रिय छ । हरेक डोटेली संस्कृतिका अनुयायीको मुखमा झुण्डीएको छ । सयौं वर्ष पहिले गाइएको यो गीत मात्र होइन महाभारत पर्वत श्रृंखलामा रहेका दर्जनौं धर्मशालाले ५/६ सय वर्षको इतिहास आफ्नो गर्भमा लुकाएर राखेका छन् ।
महाभारतको सबैभन्दा माथिल्लो भेकमा ५/६ सय वर्ष अघि निर्माण गरिएका दर्जनौं धर्मशाला पुर्खाको नासो र इतिहास बोकेर अहिले अन्तिम श्वास फेरिरहेका छन् । बिक्रम सम्वत १६०४ मा डडेल्धुराको साविक बगरकोट कुरंगायलका लख्या चटौतले निर्माण गरेको धुराको धर्मशाला अहिले पनि जिवन्त छ ।
सरसफाई गरेर लिपपोत गर्ने हो भने अहिले पनि उक्त धर्मशालामा सहज रुपमा रात बिताउन सकिन्छ । बझाङ्ग, बैतडी र डडेल्धुराबाट पैदल तराई झर्ने मूल बाटोमा पर्ने यो धर्मशालामा बास बसेर तराई ओर्लिएको सम्झना बोकेका धेरै व्यक्ति अहिले पनि जिवित छन् । ‘यो धर्मशालामा रात बिताएपछि अर्को दिन तराई पुग्न सकिन्थ्यो,’ जोगवुढाका स्थानीय बृद्ध दलबहादुर मगरले भने, ‘पहाडको जोखिमपूर्ण यात्राको अन्तिम पडावका रुपमा यो धर्मशालालाई लिइन्थ्यो ।’
बिक्रम सम्वत १६०४ अघि निर्माण भएको तर तिथी मिति नभए पनि तेलेको अर्को प्रख्यात धर्मशाला डोटी दानकोटका तत्कालीन डोटेली राजाका सेना नायक देव वस्थीले निर्माण गरेको किंवतदन्ती र गीत अहिले पनि यस क्षेत्रमा सुन्न पाइन्छ ।
बाजुरा, अछाम र डोटीका विभिन्न भेकबाट तराई ओर्लंदा बास बस्ने गरि बनाइएको यो धर्मशाला पनि झण्डै ७ सय वर्षअघि निर्माण भएको अनुमान गरिएको छ । भागेश्वर धुरा महाकाली नजिकको धर्मशाला हो भने तेलेको उक्त धर्मशाला महाभारतको मध्यभागमा रहेको धर्मशाला हो ।
यी दुई धर्मशाला मात्र होइनन् कर्णाली नजिकको बड्डिकेदारदेखि महाकाली नजिकको भागेश्वरको धुरा क्षेत्रसम्म १५औं शताव्दीयता महाभारत पर्वत श्रृखंलामा बनेका १५ वटाभन्दा बढी साना ठुला धर्मशाला संरक्षणको पर्खाइमा छन् ।
महाभारतको सबैभन्दा उपल्लो क्षेत्र भागेश्वर धुरा नजिक रहेको धर्मशाला । तस्बिर : डीआर पन्त
कुनै समय तराई पहाड आउनेजाने यात्रुले रात बिताउने ती धर्मशालाहरु सुदूरपश्चिममा यातायातका साधन संचालन सुरु भएपछि बिस्तारै प्रयोगविहीन बन्दै गएका हुन् । तर लामो कालखण्ड झण्डै ७ सय वर्ष पुरानो इतिहास बोकेका धर्मशालाका बिषयमा कुनै पनि निकायले संरक्षणको पहल नगर्दा जीर्ण बन्दै गएका छन् ।
कर्णालीदेखि महाकालीसम्म फैलिएको तेले महाभारत लेकलाई प्राचिन समयका शासकहरुले सामरिक महत्वको पर्वतका रुपमा संरक्षण गर्दै आएका धेरै प्रमाणहरु मध्ये यी धर्मशाला प्रमुख हुन् । ‘२०४८ सम्म सबै धर्मशाला संचालनमा थिए,’ धर्मशालाका बिषयमा अध्ययन गरेका संस्कृतिविद रामचन्द्र अवस्थी भन्छन्, ‘यी धर्मशाला तराई पहाड आउने जानेका लागि मात्र नभइ यस क्षेत्रको धार्मिक इतिहाससंग पनि जोडिएका छन् । कर्णाली नजिकको बड्डीकेदारेश्वर महादेव, मध्य महाभारत क्षेत्रमा पर्ने घटेश्वर, गन्याप, काफली रमहाकाली नजिक पर्ने भागेश्वर महादेव जस्ता रामायाण महाभारत कालीन प्राचिन मन्दिरसंग पनि जोडिएका छन् ।’
रामायणकालीन बड्डीकेदारेश्वर र भागेश्वर, महाभारत कालीन गन्याप, घण्टेश्वर काफलीमा रहेका प्राचिन मन्दिरसंग सुदूरपश्चिमको संस्कृति पनि जोडिएको अवस्थीले बताए । कुनै समयको समृद्ध डोटेली संस्कृतिका ‘द्योतक’का रुपमा रहेका यस्ता धर्मशाला अन्यत्र बिरलै देख्न पाइन्छ ।
संस्कृतिविद अवस्थी भन्छन्, ‘धेरै जसो धर्मशाला कलात्मक शैलीमा निर्माण भएका छन् । सयौं वर्ष बितिसक्दा पनि अहिलेसम्म प्रयोग गर्न सकिने गरि बनाइएका धर्मशालाको अनुसन्धान र संरक्षण हुन आवश्यक छ ।’
महाभारतको सबैभन्दा उपल्लो क्षेत्र भागेश्वर धुरा नजिक रहेको धर्मशाला । तस्बिर : डीआर पन्त
डोटेली संस्कृतिका अन्वेषणकर्ता वरिष्ठ साहित्यकार बासुदेव पाण्डेय पनि महाभारत पर्वत श्रृंखलामा बनेका धर्मशालाले प्राचिन डोटी राज्यको इतिहास, संस्कृति र सभ्यता जोडिएको बताउँछन् । साहित्यकार पाण्डेय भन्छन्, ‘प्राचिन डोटी राज्यको आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक महत्वसंग जोडिएका यी धर्मशालाको न त अध्ययन भयो न कतैबाट संरक्षणको काम नै भयो ।’ साहित्यकार पाण्डेयले स्थानीय तह गठन भएपछि यस्ता प्राचिन सम्पदाको संरक्षणको आशा गरिए पनि कुनै काम हुन नसकेको गुनासो गरेका छन् ।
बिक्रम सम्वत १६०४ मा तत्कालीन मुगल शासकहरुले पहाडी राज्य कब्जा गर्ने उद्देश्यले डोटी राज्यमा आक्रमण गरेपछि यी सबै धर्मशाला डोटेली फौजले हातहतियार र रासन पानी राख्नका लागि प्रयोग गरेको इतिहासकार भोजराज भट्टराईले ‘डोटी राज्यको इतिहास’ पुस्तकमाउल्लेख गरेका छन् । हाल कैलालीको चूरे गाउँपालिकामा रहेको सहजपुर (तत्कालीन नाम सहजादापुर) मा सैन्यगढी कायम गरि मुगलहरुले डोटी राज्य कब्जा गर्ने उद्देश्यले गरेको आक्रमणमा घाइते भएका डेटेली सैनिकको उपचार कक्षका रुपमा पनि यी धर्मशालाको प्रयोग भएको उल्लेख छ ।
नेपालको सिमानामा रहेको एक मात्र मुगल कालिन किल्ला नायलगढीमा भएको भिषण युद्धमा मुगलहरुलाई पराजित गर्दै डोटेली सेनाले लखनउ नजिकको गोमती नदीपारी लखेटेपछि तत्कालीन डोटी राजाले सबै धर्मशालाको जिर्णेाद्धार गरि स्थानीय देवी देउतालाई चढाएको किंवदन्ती र लोक काब्यमा उल्लेख भएको पाइन्छ ।
कुनै समयमा तराई पहाड गर्ने बटुवाका लागि बासस्थानको रुपमा मात्र प्रयोग भएनन् धर्मशाला । सामरिक, सांस्कृतिक र धार्मिक कार्यमा पनि यी धर्मशाला प्रयोग भएका धेरै उदाहरण छन् । यी धर्मशालासंग हाम्रो संस्कृति र इतिहास पनि जोडिएको कुरा अहिले सबैले बिर्सिएका छन् । चर्चित पुस्तक ‘मष्टो संस्कृति’का लेखक पूर्व डिआइजी श्यामसिंह खड्का भन्छन्, ‘संस्कृतिको उत्खनन् गर्नेले यी धर्मशाला बिर्से भने त्यो अधुरो हुन्छ ।’
धर्मशालामात्र होइन पहाडदेखि तराई जोड्ने तत्कालीन पदमार्गलाई अहिलेको आधुनिक पदमार्ग निर्माण गरि पर्यटकसमेत भित्र्याउन सकिने उनले बताए । महाभारत पदमार्गको पटकपटक चर्चा भयो तर राज्यका निकायले यस विषयमा सामान्य चासो समेत दिएनन् । बाह्य पर्यटक मात्र होइन् यस्ता पदमार्गलाई आन्तरिक पर्यटकका लागि पनि महत्वपूर्ण हुने बरिष्ठ लेखक खड्काले बताए ।
पहिलोपटक आफ्नो पालिका क्षेत्रमा रहेका यी प्राचिन धर्मशालाहरुको संरक्षणका लागि डडेल्धुराको भागेश्वर गाउँपालिकाले यस आर्थिक वर्षमा १० लाख बजेट छुट्याएको छ । ‘पुरातात्वीक महत्वका धर्मशाला भएकाले कसरी जिर्णेद्धार गर्ने ? भन्ने अलमलमा छौं,’ भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले भने, ‘तत्काललाई धर्मशाला क्षेत्रलाई तारबार गरि संरक्षण गर्ने र बाँकी जिर्णोद्धारका लागि पुरातत्व विभागसंग समन्वय गरि काम गर्ने तयारी गरेका छौं ।’
डडेलधुरामा रहेका अधिकांश धर्मशाला भागेश्वर र आलीता लगाउँपालिका क्षेत्रमा पर्छन भने बाँकी धर्मशाला डोटी जिल्लाका बिभिन्न स्थानीय तहको क्षेत्रमा रहेका छन् । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले पुरातत्व विभागले समन्वय गरि सबै धर्मशालाको एकिकृत संरक्षण र जिर्णोद्धारको काम अगाडि बढाए संरक्षणमा सहजता हुने पनि बताए ।