Paschim Express
डडेल्धुराका ट्याङ्करका चालक देउवासहित दुईजनामाथि धनगढीमा खुँडा प्रहार

कैलाली । कैलालीको धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ ।

अज्ञात समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update