Paschim Express
डडेल्धुरा पुगेर महतले भने– यहाँ अन्यत्रको जस्तो होइन, चल्ने विमानस्थल बनाउने हो

डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतले डडेल्धुरामा नियमित उडान हुने विमानस्थल निर्माण हुने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले यस्तो बताएका हुन् ।

सुदूरपश्चिमका सबै जिल्लामा विमानस्थल छ, डडेल्धुरामा मात्रै किन नभएको ? भन्ने पत्रकारको प्रश्नमा नेता महतले भने, ‘अन्य ठाउँमा विमानस्थल भए पनि बन्द छन् । डडेल्धुरामा त नियमित चल्ने विमानस्थल बनाउने हो ।’

उनले डडेल्धुरा मेडिकल कलेजलाई पनि पूर्ण रुपमा सञ्चालन गर्नका लागि प्रयास भइरहेको बताए । ‘यो धेरै जिल्लाको लागि पायक पर्ने र सुन्दर ठाउँ छ,’ उनले भने, ‘यहाँ एउटा पूर्ण रुपमा सञ्चालन भएको मेडिकल कलेज चाहिन्छ । त्यसका लागि काम भइरहेको छ ।’ 

अर्को प्रसंगमा बोल्नै प्रवक्ता महतले स्थिरताका लागि दुई ठुला दल मिलेको बताए । ‘प्रचण्डजीले सरकार चलाउने नाममा जे मन लाग्यो त्यहीँ गर्न थाल्नुभयो,’ नेता महतले भने, ‘उहाँले पटकपटक समीकरण परिवर्तन गर्न थाल्नुभयो । कहिले एमाले त कहिले काँग्रेससंग मिलेर प्रधानमन्त्री बन्न थाल्नुभयो । जहाँ सजिलो लाग्छ त्यतै जान लाग्नुभयो । त्यसैले काँग्रेस र एमाले मिलेर सरकार बनाएका हौं ।’

नेता महतले अहिलेको समीकरणलाई धेरैले स्वभाविक नभएको बताए पनि काँग्रेस र एमालेको समीकरण परिस्थितिले बनाएको बताए । ‘हामी दुई दल मिल्नुको मुख्य कारण स्थिरता नै हो,’ उनले थपे । उनले अहिले नेपाली काँग्रेस संगठनलाई बलियो बनाउन जुटेको बताउँदै आउदो निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि लाग्ने बताए । जनतालाई निराशा बनाउने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाई थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । 

विपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा विपी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका लागि नेता महत डडेल्धुरा पुगेका हुन् । विपी प्रतिष्ठान डडेल्धुराले मुलुकको समृद्धिमा युवाको भूमिका विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update