Paschim Express
सुदूरपश्चिममा पाँच वर्षमा २९ सय १२ जनाले गरे आत्महत्या, यसकारण गर्छन देहत्याग

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन् । प्रदेशमा पछिल्लो पाँच वर्षमा दुई हजार नौं सय १२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/०७७ सालमा पाँच सय ४४, ०७७/०७८ मा छ सय ८०, ०७८/०७९ सालमा पाँच सय ७६, ०७९/०८० सालमा पाँच सय ५७ र ०८०/०८१ सालमा पाँच सय ५५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ । 
प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनाले आत्महत्या गरेका थिए भने तीमध्ये ६० बालिका र ३९ बालक गरी ९९ जना कम उमेरका छन् । 

ग्रामिण क्षेत्रभन्दा सहरी क्षेत्रमा आत्महत्याका घटना विकराल बन्दै गएका छन् । पछिल्लो वर्षमा मात्रै पाँच सय ५५ मध्ये तराईका दुई जिल्ला कैलालीमा दुई सय ३६ र कञ्चनपुरमा एक सय ६१ जनाले देहत्याग गरेका छन् । तराईका दुई जिल्लामा एक वर्षमा तीन सय ९७ जनाले आत्महत्या गरेका छन् भने बाँकी सात पहाडी जिल्लामा एक सय ५८ जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार सहरी क्षेत्रमा आत्महत्या बढ्नुका थुप्रै कारण छन् । ‘आत्महत्याको एउटा कारण व्यक्तिगत असन्तुष्टि पनि हो,’ उनले भने, ‘आफ्नो इच्छा पूरा नभएको आवेगमा धेरैले देहत्याग गरेको हाम्रो अनुसन्धानबाट पनि खुल्न आएको छ । आत्महत्याको कारण निराशा र त्यसले उत्पन्न गराउने मानसिक तनाव पनि हो ।’ उनका अनुसार आत्महत्या कसैले पनि योजनावद्ध रुपमा गरेको देखिन्न । ‘सहरी क्षेत्रममा वैवाहिक जीवन सफल नभएर तथा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोजेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘अनैतिक सम्बन्धले पनि आत्महत्या बढाएको छ ।’ सहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ । 

प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई पछिल्लो समय दुरुत्साहन मुद्दा लगाउन थालेको छ । यसले आत्महत्याको कारणबारे पनि अनुसन्धान भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रबिन्द्र केसी भने बालबालिकाले समेत आत्महत्या गरेको घटना सार्वजनिक हुनु निकै दर्दनाक भएको बताउँछन् । ‘उमेर पुगेका व्यक्तिले पनि आत्महत्या रोज्नु निकै दुखद हो,’ डिआइजी केसी भन्छन्, ‘त्यसमा पनि बालबालिकाले आत्महत्या गर्नु झन पीडादायी छ । बुवाआमाले सामान्य गाली गर्दा पनि कतिपयले आत्महत्या गरेको अनुसन्धानबाट खुल्छ । यो निकै दुखद हो ।’

उनका अनुसार आत्महत्या बढ्नुमा जनजीवीका र भावनात्मक कुरा पनि जोडिएका छन् । ‘कतिपयले रिसको आवेगमा पनि आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘बढ्दो वैदेशिक रोजगारी, त्यसबाट उत्पन्न निराशा पनि एउटा कारण हो ।’ प्रेम सम्बन्धमा पाएको धोकाले पनि धेरैले आत्महत्या रोजेको डिआइजी केसीको भनाई छ । 

यस्तै मंगलबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो । आत्महत्या बढ्दै गएपछि नेपालमा संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update