Paschim Express
सुदूरपश्चिमका आधा दर्जन राजमार्ग अवरुद्ध, डडेल्धुरामा २४ घण्टामा १६७ मिलिमिटर वर्षा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । बुधबार रातिदेखि प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा वर्षा भएको छ । डडेल्धुरामा एक सय ६७, कैलालीको धनगढीमा एक सय ५७ र डोटीको दीपायलमा एक सय १२ मिलिमिटर वर्षा भएको छ । अहिले पनि वर्षा जारी छ । 

वर्षाका कारण पहिरो जाँदा प्रदेशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन् । तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आधा दर्जन स्थानमा पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार राजमार्गको खानीडाँडा, फल्टुडे, भासु भीर, मेलखर्क, साखुखर्क लगायतका स्थानमा पहिरो गएको छ । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा सबैभन्दा ठुलो पहिरो खसेपछि राजमार्ग पवहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको जल्ला प्रहरी कार्यालय डडेल्धुराले सूचना जारी गर्दै उल्लेख गरेको छ । राजमार्गको रडुवा र सकायल क्षेत्रमा पहिरो खसेको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । 

यस्तै बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्द भएको हो । यस्तै केदारस्यू गाउँपालिका क्षेत्रमा पनि पहिरो गएपछि आवातजावत ठप्प छ । बिजुलीको तार चुडेर सेती नदीमा पुगाएपछि बझाङको विद्युत सेवा पनि अवरुद्द भएको छ । यस्तै डडेल्धुरादेखि बैतडी जोड्ने राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध छ । राजमार्गको डडेल्धुरा सदरमुकाम क्षेत्र, अनारखोली क्षेत्रमा पहिरो गएपछि रामाजर्ग अवरुद्ध भएको हो । 

यस्तै, कैलाली जिल्लामा भारी वर्षा भएपछि विभिन्न क्षेत्रमा बाढी गएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार मोहना, खुटीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । उनले तटीय क्षेत्र र  डुवान हुने होचा स्थानमा उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बताए । जोशीका अनुसार कर्णाली नदीले पनि चेतावनी तह पार गरेको छ । यस्तै जिल्लाको जोशीपुर गाउँपालिकामा मात्रै बाढीले एक सय परिवार प्रभावित भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा दुई÷दुई परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिका वडा नम्बर ४ मा १५, वडा नम्बर ७ मा १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update