Paschim Express
धनगढीमा भोलि हुँदैछ परीक्षा, पहिरोले सडक ठप्प भएपछि कयौं परीक्षार्थी अलपत्र

डडेल्धुरा । कैलालीको धनगढीमा शनिबार बिहान ११ बजेदेखि शिक्षक सेवा आयोगको परीक्षा छ । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक लिखित परीक्षा (विषयगत) का लागि आयोगले २० गते नै केन्द्र तोकिसकेको थियो । उक्त परीक्षाका लागि सुदूरपश्चिमबाट मात्रै एक हजार नौं सय ५६ जना परीक्षार्थी तयारीमा थिए । उनीहरुमध्ये झन्डै एक हजार चार सय परीक्षार्थी भने सुदूरपश्चिमको पहाडी सात जिल्लाका छन् ।

तर, सुदूरपश्चिमको सात पहाडी जिल्लाबाट तराइको जिल्ला कैलाली जोड्ने भीमदत्त राजमार्ग भने बिहीबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध छ । जसका कारण कयौं परीक्षार्थीहरु भने बिच बाटोमै अलपत्र परेका छन् । बैतडीको गोकुलेश्वरबाट परीक्षा दिनका लागि धनगढी गइरहेकी जानकी जोशीले ८ घन्टादेखि डडेल्धुराको साहुखर्कमा अलपत्र परेको बताइन् । `प्रावि तृतीय श्रेणीको दोस्रो पत्रको परीक्षाका लागि धनगढी जादै थिए,´ उनले भनिन्, `राजमार्ग अवरुद्ध भएपछि भोलि हुने परीक्षामा सहभागी हुन पाइदैन जस्तो भइरहेको छ ।´ उनी सवार गाडीमा अन्य ६ जना पनि सोही परीक्षाका लागि धनगढी गइरहेका छन् ।

डडेल्धुराका लोक ठकुराठी पनि बिहान ८ बजेदेखि साहुखर्कमा अलपत्र छन् । `शनिबार प्राथमिक तह तृतीय श्रेणीको परीक्षा थियो,´ उनले भने, `तर, साहुखर्कमा ठूलो पहिरो गएपछि अलपत्र परेका छौँ ।´ उनका अनुसार दर्जनौं सवारी साधन र सयौं यात्रु साहुखर्कमा अलपत्र छन् । भीमदत्त राजमार्ग पहाडी सात जिल्लाबाट धनगढी जोड्ने एकमात्र राजमार्ग हो ।
उक्त राजमार्ग भारी वर्षापछि पहिरो खस्दा आधा दर्जन स्थानमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार पहिरो पन्छाउने काम जारी छ । `वर्षा र पहिरो खस्ने क्रम अहिले पनि जारी छ,´ उनले भने, `राजमार्ग सुचारु गर्नका लागि पनि काम भइरहेको छ ।´ भीमदत्त राजमार्ग साहुखर्क, मेलखर्क, खानीडाडा, भासु भीर, फल्टुडे लगायतका क्षेत्रमा अवरुद्ध छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update