Paschim Express
सुदूरपश्चिम सरकारले ३१ गते बजेट ल्याउने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ सुरु भएको ६३ दिनपछि अर्थात् ३१ गते बजेट ल्याउने भएको छ । शनिबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले ३१ गते बजेट ल्याउने जानकारी दिएका हुन् । `एमाले, नेपाली काँग्रेस र नगरिक उन्मुक्ति पार्टी मिलेर प्रदेशमा सरकार बन्ने बित्तिकै हामीले छिट्टै बजेट ल्याउने भनेका थियौं,´ मुख्यमन्त्री शाहले भने, `विभिन्न कारणले केही ढिलाइ भयो । अब ३१ गते सदनमा बजेट प्रस्तुत हुन्छ ।´

मुख्यमन्त्री शाहले प्रदेश सरकारले बनाएको चार वटा बुदालाई टेकेर बजेट बनाइएको बताए । `ती चार वटा बुदाले बजेट निर्माणका क्रममा हुने बेथितिलाई नियन्त्रण गरेको छ,´ उनले भने । प्रदेश सरकारले २५ लाख भन्दा कमका योजना नल्याउने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको थियो ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले बजेट ल्याउनै दुई म्हिना ढिलाइ भइसकेकोले अब कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।

सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गएको दुई महिना पुग्नै लागेको छ । हुन त नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको १ असारमा चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरेको थियो । तर, उक्त बजेट पारित हुन नसक्दा १ साउनदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको थियो ।

सोडारी नेतृत्वको सरकार ढलेपछि २१ साउनमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको थियो । शाह नेतृत्वको सरकारले २३ साउनमा राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजस्व संकलन सुरु भएको थियो । तर, विनियोजनसम्बन्धी कानुन नभएकाले सरकार उधारोमा चलेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update