Paschim Express
थपला [कविता]

मेरो पन्ध्र पुस्ताले
भोग गरेको माटो हो यो
यो भूमि टेकेसँगै
यतै पहाड खनेर गरा बनाए
कोदो, मकै, धान, गहु, सुन फलाए।

यसै माटोमा
यहिको ढुङ्गामा
यहिका लता बोट वृक्षमा
खोला,ताल,नदीमा देउता भेटे।

भीषण लडाइ लडे
रोग, भोग, गरिबीसँग
अर्को राज्यको आक्रमणसँग
हिंसक जनावरसँग
दैवी बिपत्तिसँग
भूतसँग।

वैरीका कटकसँग
पराक्रम प्रस्तुत गरि परास्त गरे
छल गरे बल देखाए जीते
दिग्विजयको यात्राको
दशौ शताब्दी काटिदैछ
जाट पणवार जितेर बसेको
पन्ध्रौं पुस्ता छ यहाँ ।

गोर्खा वा झापामा बस्ने पनेरू हुन्
जैसेरा, बुडाली, सिमका हुन्
जोइसी हेर्दै बझाङ 
ज्योतिषी विद्यासँगै नेपाल उपत्यका 
छिरेका पाण्डेय हुन्
राजाको लिखित लेख्ने लेखक हुन्
खनमोडामा बस्ने हुन्
रुपाल,बोगटाका हुन्
सिलगढी,छाम,अछाम पुगेका मलस्याहरु
रुपाल,सुर्खेतमा रहेका भारतीहरु
भुल, रावल, पान, पानेहरु यतैका हुन्
सार्की, टमटासँगै
शिवालयमा भेरी बजाउने भेरीकार पनि
यतैका हुन्
ग्वान्नीका भाट,बोहरा
बाह्रगाउँ जोरा, ठकुराठी
जोशी उप्रेती 
साउन भण्डारी
देउवा बोगटी 
थापा खाती
पन्त पनेरु
पाण्डेय चटौत
भट्ट कठायतको
कुनै न कुनै साइनो सम्बन्ध छ 
कालीपारीबाट वांङ्घाट तरेर आएका
हरेकले
यसै भुमि टेकेर गएका हुन्
यही माटो पुजेका हुन्
यहीँबाट प्रारम्भ भएको हो
अहिलेको यात्रा ।

यहीँबाट सुरु हुन्छ
चौध सय डोटी
यतैबाट भन्ने गरिन्छ
बाइसफाट कुमाउ
सम्बन्धको कुरा हुन्छ
सोल सय सोराड, नौसय पश्य गड
एघार सय पुर्चौण, तेह्रसय लेकम
छमअछाम, बरहज्जरेइ मालसम्मको।

गर्खाले भन्थ्यो
नङ माथी माथी मासु नाई
थपला भन्दा तल गाउँ नाई
बाह्र हजार मालमधेसको
प्रतिनिधित्व गर्ने गाउँ 
जहाँ खिटकेश्वर ,भागेश्वर, सिद्धनाथ जस्ता
शिवालय छन्
जहाँ कैलपाल, कालिसैन, समैजी, नौला जस्ता
बरदानौ छन
जहाँ भुवनेश्वरी, कालिका, मालिका
देवी छन्
जहाँ खोदाई, ब्रह्म, पिजास, पिजासनी
पूजनिय छन् ।

ऐतिहासिक पुरातात्त्विक महत्वको
एकै ढुङ्गामा बाईस ओखल भएको
ओखलढुंङ्गा छ ।

टाउको,थप्लो जस्तो डाडा
थाप्लोबाट थाप्ला हुँदै थपला भयो
त्यस्तै बस्ती प्रारम्भ हुँदा
थापाहरुले रोजेको ठाउँ थापा आललय
थपला रहन गयो 
भन्ने मान्यता छ ।

पुर्खाले भीर ,पखेरा सम्याए
पहाड खनेर गरा बनाए
राजालाई पाले पाल बनाए
कैलपाल,निलपाल,खम्पाल,कन्युपाल
पुजनीय भए
साहास बढाए शाही भए
मल्ल युद्ध सिकाए
दिग्बिजयी बनाए मल्ल कहलिए
तिनै राजाले नङरकोट बनाउँदा
नागको दर्शन पाएर नागी मल्ल भए
यश, कृति, प्रसस्ती फैलियो ।

केही छैन डाडो छ
देवमय छ
प्रकृतिको अनुपम छटाछन्नता छ
झ्याउकिरीको झुनझुनाहट छ
न्याउलीको करतल छ
महाकालीका निला घुम्ती देखिन्छन
समथर मधेस देखिन्छ
सेताम्य हिमाल देखिन्छ
हरियाली, मनोरम छ
इतिहास, गौरवगाथा छ
भोटमालको सम्बन्ध र सानिध्यता छ ।

छन् त छन् असंख्य सम्भावना छन
छन त छ मनै हर्ने प्रकृति छ
बिहानको सूर्यादय 
झलझलाकार देखिन्छ ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update