डडेल्धुरा । डडेल्धुराको गन्यापधुरामा आज शिखर जाँत लाग्दैछ । प्रत्येक वर्ष भाद्र चतुर्दशीको राति शिखर मेला लाग्ने गरेकाे गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नरेश भट्टले जानकारी दिए ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घना जंगलमा मेला आयोजना हुने भएकाले सहभागिताका लागि वडा अध्यक्ष भट्टले आग्रह गरेका छन् । गन्यापधुराको शिखरको जाँत लाग्ने ‘ठूलो ढुंगा’सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ ।
शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजे तिर गात शिखरमा पुग्छन् । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन् । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल, डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा छ । मूल देउराे भने रुमाइलबाट जाने गरेकाे छ ।
देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ । दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका छन्। मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन् । यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको बरदान पूरा हुने धार्मिक विश्वास छ ।
मेला भर्नका लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू पुग्ने गरेका छन् । जात्रामा गाइने डेउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका छन् ।
यस्तो छ किंवदन्ती
पौराणिक मान्यताअनुसार रुमाइल गाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएका थिए । फुल भाटकी श्रीमतीले सर्पलाई कहाँ राख्ने भनी विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीँ राखिदिएका थिए ।
त्यसपछि फुल भाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ । फुल भाटकी श्रीमती निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएको भनिन्छ ।
फुल भाटकी श्रीमतीले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन् । अनि हतार–हतार थाली कता लुकाउने भनी खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन् । फेरि दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेका, देवता शिखरको शिलामा पुगी बिलीन भएका र त्यहीँ भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ ।