Paschim Express
डडेल्धुरा, बैतडी र अछाममा क्रिकेट मैदान निकै आवश्यक : अध्यक्ष चन्द


डडेल्धुरा । जिल्ला क्रिकेट संघको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ  ।  सोमबार संघका जिल्ला अध्यक्ष हरि उप्रेतीको अध्यक्षमा साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गरे । उद्घाटन गर्दै उनले डडेल्धुरामा सीमित स्रोतसाधनका बाबजुत पनि क्रिकेट प्रतियोगिताहरू भइरहेको भन्दै संघको प्रशंसा गरे । नियमित रूप जिल्ला संघलाई एक लाख रुपैयाँ अनुदान दिइरहेको जानकारी गराउँदै अब क्रिकेट सिजन सुरु भएको बताए ।मैदान नहुँदा चाहेरपनि पहाडी जिल्लामा क्रिकेटका प्रतियोगिता कम भइरहेको उनको भनाइ थियो ।

जिल्लामा आयोजना हुने प्रतियोगिताका लागि क्रिकेट बलहरूलगायतका सामग्री क्यानबाट दिइरहेको र आगामी दिनमा पनि उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

‘पहाडी जिल्लामा तीनवटा क्रिकेट मैदानका लागि बजेट छुट्याउन प्रदेश सरकारलाई भनेका छौँ,’ उनले भने, ‘बैतडी, डडेल्धुरा र अछाममा क्रिकेट मैदान निकै आवश्यक छ। प्रदेश सरकारले बजेट छुट्याउने अपेक्षा गरेका छौँ । क्यानले आफैं खेल मैदान बनाउँदैन। त्यसका लागि स्रोत पनि हामीसँग छैन ।’

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जिल्लामा सोचेअनुसार क्रिकेटको विकास हुन नसकेको बताए। ‘यहाँ क्रिकेट पूर्वाधारको अभाव छ। मौसमका दृष्टिकोणले डडेल्धुरा क्रिकेट हब बन्नसक्छ। खेलकुदले पर्यटनलाई पनि टेवा पुग्न सक्छ,’ उनले भने, ‘यहाँ एउटा पनि क्रिकेट मैदान बनाउन सकेमा जिल्लाको कायापलट हुन्छ।’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले पनि जिल्ला सदुमरकाम क्षेत्रमा खेलकुद मैदान अभाव रहेको बताए। ‘जिल्ला सदरमुकाम क्षेत्रमा मैदान अभाव छ। मैदान पहल गरिरहेका छौँ,’ उनले भने, ‘क्रिकेट खेलले देशलाई नै विश्वमा चिनाएका छौँ। यस खेललाई गाउँ-गाउँमा पुर्‍याउन आवश्यक छ।’ उनले खेलाडी छनोटमा हुने राजनीतिलाई पनि अन्त्य गर्नुपर्नेमा जोड दिए ।

संघका जिल्ला अध्यक्ष उप्रेतीले क्रिकेट क्षेत्रमा बजेट निकै अभाव रहेको बताए। उनले अमरगढी नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न क्रिकेट एकेडेमी स्थापन गर्ने संघको योजना रहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update