Paschim Express
बुडढुनी सक्रान्तीको महत्त्व र बुढी पोल्ने पर्व

वैदिक सनातन संस्कृतिमा हरेक दिनलाई शुभमंगलका रुपमा लिइन्छ । सनातन संस्कृतिमा तमाम नित्यकर्म का रूपमा छुट्याइएका कार्यहरू छन् जुन हरेक दिन गरिन्छन् । बिहानै दैलो पोत्नु,दैलोको पुजा गर्नु, साँझ दियो जगाउनु, नित्य स्नान, सन्ध्योपासन, भोजन गर्दा पनि पवित्र भइ चोख पकाएर ग्रहण गरिन्छ। हरेक गरिने कार्य मन्त्रक हुन्छन् ।

मन्त्र उच्चारण हुँदा आफ्नो बसाइको स्थान, भूगोल, क्षेत्र, देश, प्रदेश, जिल्ला, गाउँ, नगर, टोल, त्यो वर्षको संम्बतसर, आयन, ऋतु, महिना, पक्ष, तिथि, बार र कर्म गर्नेको गोत्र, प्रवर, शाख, कूल, राशी नामसहित सम्बोधन गरिन्छ । 

यसले हरेक दिनलाई पर्व कै रूपमा लिइएको हुन्छ ।  हरेक दिनलाई शुभमंगल दिन भनिन्छ । शुभमंगलसँगै त्यार काजवार पनि भन्ने गरिन्छ । दिन, वार, तीथीलाई महत्व दिइएको हुन्छ । चन्द्रमासमा तिथि र सौरमासमा दिनलाई महत्वका साथ लिइन्छ । कुनै दिन चन्द्रमासको तिथिको महत्व रहेको हुन्छ भने कुनै दिन सौरमास दिनको महत्व हुन्छ ।

महिनाको पहिलो दिनलाई पर्वको रुपमा मान्दछन् । सौरमास गणना अनुसार महिनाको पहिलो दिन संक्रान्तीमा सुर्य एक राशीबाट अर्को राशीमा प्रवेश गरेको हुन्छ । सुर्यको राशी परिवर्तनसँगै उदय हुने नक्षेत्रको पनि विशिष्ट महत्व हुन्छ । बैशाख महिनामा विशाखा, जेठमा जेष्ठा अषाढमा पुर्वासाडा, श्रावणमा श्रवण भदौमा भद्रा भएझै असोज महिनाको नक्षेत्र अश्वनी रहेको छ । असोज संक्रान्तीका सुर्यले सिंह राशीबाट कन्या राशीमा प्रवेश गरेको हुन्छ । कन्याराशीमा रहेकाले कन्याकत तथा पित्रीपक्षका रूपमा लिइएको हुन्छ । 

असोज महिनाका दुवै पक्ष मध्ये कृष्णपक्षलाई पित्री पक्ष र शुक्लपक्षला देवीपक्षका रूपमा लिइन्छ । दुवै पक्षको छुट्टाछुट्टै महत्व रहिआएको छ । कन्याकतमा सोलश्राद्य गर्ने गरिन्छ । चन्द्रमास गणनामा आश्विन कृष्ण प्रतिपदाबाट हुन्छ भने सौरमासमा महिनाको पहिलो दिन सक्रान्तीबाट शुरु भएको हुन्छ । सुर्यको राशी परिवर्तनको दिनलाई शुभ दिन मानेर पर्वका रूपमा मान्ने गरिन्छ । त्यसैमा डोटी, डडेल्धुरा  क्षेत्रमा मौलिक रूपमा विशिष्ट पर्व मनाउने प्रचलन रहेको छ । 

संक्रान्तीलाई विभिन्न नाम दिए अनुरुप असोज सक्रान्तीलाई बुडढुनी,बन्ढुनी भनेर भन्ने गरिन्छ । बुडढुनी बुढी र डढाउनु दुई शब्द मिलेर बनेको छ । ओल्के संक्रान्तीको दिन बाँधिएको (वाडिएको) बुढीलाई बन्ढुनी संक्रान्तीमा पोलिन्छ ।

त्यसैले यस दिनलाई ‘बुढीपोल्या’ दिन पनि भनिन्छ । 'गाई बाच्छी पाल बुडी निकाल' भन्दै बाबियाको चुल्ठो बनाएर हरेक गोठमा लैजाने र गाउँको उच्चो ठाउँमा बुढी पोल्ने गरिन्छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला हरेक गाउँमा बुढी पोल्ने चलन छ । बुढीलाई पुतना राक्षसनीको प्रतिरुप स्वरूप हरिया झार कांडा (केणाकुणी) बाट गाइ गोरु बन लग्ने ल्याउने (ग्वाहार) को कुनै निश्चित स्थानमा चाङ बनाउने चलन छ । जसलाई स्थानीय भाषामा बुढी बाढ्ने वा बन्ढुनी बनाउने भनिन्छ ।

ओल्के सक्रान्तीका देन बाडीएको बुढी बुडढुनीका साँझ जलाइन्छ । पौराणिक कथा प्रसंँगसँग जोड्दा  द्वापर युगमा श्री कृष्ण भगवानलाई छल गरेर छातिको दुध चुसाइ मार्नका लागि उनका मामा कंसले पुतना राक्षसनीलाई पठाएको तर श्री कृष्णले उल्टै पुतनाको दुध मात्रै होइन खुन समेत चुसेर मार्दै गर्दा ग्वालाहरुले बुढीलाई बाधेको, सामुहिक रूपमा डढाएको कथा संग जोडिएको हुन्छ । कृष्णजीले ग्वालाको सहयोगमा निकै कठिन समस्याको समाधान र बिपत्ति संग लडेका धेरै प्रसंग पाइन्छ । 

तीनीहरुमध्ये पुतना बध निकै महत्वपूर्ण मानिन्छ। पुतनालाई बाँधेदेखि नै खुशियाली मनाइ रहेका ग्वालाहरु पुतना बध गरे पछि निकै उत्साही थिए । ओल्केमा बुढी बाडेर त्यही दिन बाबियोको पिङ राखिन्छ । महिनाभरी पिङ मच्चाएर खेलिन्छ।त्यही उत्साह र खुशियाली मनाएको प्रसंगसँग यो बुढी बाढ्ने र एक महिना पछि अर्थात असोज सक्रान्तीमा यसलाई पोल्ने कुरा सम्बन्धित छ ।

हरेक घरमा रंगिबिर्ंगी फूल राखेर बाबियोको चुल्ठो बनाएको बुढीको प्रतीक बनाइन्छ । गाउँको कुनै एउटा घरमा जम्मा भइ गाई बाच्छी पाल बुढी निकाल भन्दै भट्याउदै त्यो घरमा तयार गरेको बुढीको चुल्ठो बोक्दै अर्को घरमा पुग्दछन् । गाउँका सबै घरका गोठमा पुगिसके पछि बुढी बाडेको डाडोमा वा गाउँ भन्दा पर पुग्दछन् ।

ओल्केका दिन बाडेको बुढीमा बोकेर ल्याएका चुल्ठो राख्दछन् । हरेक घरमा पुग्दा अलिकति चाम, बुढी सल्काउन हुने झरो काक्रा, केरा अन्य फलफूल घरपट्टी दिए अनुसार लिएर जान्छन् । आगोको राको बालेर गाई बाच्छी पाल बुढी निकाल भनी परिक्रमा गर्दै चारैतिर बाट आगो सल्काउछन् ।

बुढी पोलेको बेला सामान्यतय पानी पर्यो भने बुढिको जित भएको र पानी नपरे बुढी पोल्नेहरुको जित हुने जनविश्वास छ । बुढी पोल्दा आगोको लप्का जुन क्षेत्र तिर गयो त्यो क्षेत्रमा (स:) राम्रो हुने भनाइ छ । 

काक्राको चिरा,चामल चपाएर थुइ बुढी भन्छन् । त्यहाँ उपस्थित सबैजना काक्रो लगायत अन्य फलफुलको प्रसाद ग्रहण गर्दछन् । बुढी पोलेको खुशियाली नाचगाना र डेउडा खेल्ने गरिन्छ । हरेक गाउँमा बुढी पोल्ने गरेको हुन्छ । बुढी डढाए पछि निकै उल्लास का साथ देउडा खेल्ने गरिन्छ। बुडढुन्नी संक्रान्तीको रात भर राम रमाइलो गर्ने गरिन्छ। माडा,सेल,लगायतका परिकार एक आपसमा बाडने उत्सवका साथमा बुड्ढुनी पर्व मनाइन्छ ।

त्यसैदिन वास्तुदेवता विश्वकर्माको पनि पुजा गर्ने गरिन्छ । भगवान विश्वकर्माले नै स्वर्गको निर्माण गरेको मान्यता छ। आधुनिक निर्माणको युगमा प्रयोग गरिने वास्तु शास्त्रीय पद्धतिमा कल्पिता विश्वकर्मणा भनी त्यही शास्त्रीय पद्धतिको अनुसरण गरिएको पाइन्छ ।

देवताको स्वरुप निराकार मानिन्छ । तर आकार स्वरुप भगवानको परिकल्पना पनि भगवान विश्वकर्मा को नै हो । विश्वकर्मा पूजा र बुढीपोल्ने संक्रान्ती वा बुड्ढुनी पर्व भएकाले पनि आश्विन संक्रान्तीको महत्व निकै रहेको पाइन्छ । त्यसैमा बुढीपोल्ने कार्य सुदूरपश्चिमको मौलिक पर्व र परम्परा पनि हो ।

देव पूजनको परम्परा निकै प्राचीन रहेको, त्यसैमा पनि भगवानका अवतार तथा लिला गरेका प्रसंगलाई प्रसंसनिय कार्य मानी उत्सव मनाउने गरिन्छ । सोलकलाले निपुण कृष्णजीका हरेक गतिविधि बन्दनिय रहेका छन् ।

कृष्णजीको अदभूत पराक्रमसँग जोडिएको पुतना बधको पुराणमा वर्णित कथालाई लोक परम्परासँग जोडेर लोक गाथा, उत्सव, चाड, पर्व मनाउने क्रमको अति नै महत्वपूर्ण पर्व बन्ढुनी, बुडढुन्नी संक्रान्ती पनि हो ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update