Paschim Express
सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बिहान बसेको प्रदेशसभाको बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको हो ।

बहुमतले बजेट पारित हुनुअघि बजेटमाथिको छ्लफलमा सहभागी भएका लगभग सबै प्रदेशसभा सदस्यले बजेटमा असन्तुष्ट जनाएका थिए । सत्तापक्षका प्रदेशसभा सदस्यहरूले पनि बजेटमा अटाएका योजना बिचौलियामार्फत आएको भन्दै आपत्ति जनाएका थिए । उनीहरूले बजेट ल्याउन बनाइएको मापदण्ड पनि कार्यान्वयन नभएको आरोप लगाएका थिए ।

तर, सतारुढ नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्यहरुले बजेटको पक्षमा ध्वनि मत दिएपछि सभामुख भीमबहादुर भण्डारीले बजेट पारित भएको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा पेश गरेका थिए । थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको कुल अंक भने ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

त्यसअघि तत्कालीन दीर्घ सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा पेश गरेको बजेट पारित नभएपछि उक्त बजेटलाई परिमार्जन गर्दै आर्थिक वर्ष सुरु भएको ६३ दिनपछि नयाँ बजेट ल्याइएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update