Paschim Express
लागूऔषध सेवन गराएर डडेल्धुराकी युवतीको बलात्कारपछि हत्या, दुई जना पक्राउ

डडेल्धुरा । कैलालीको धनगढीमा ३१ वर्षीया युवती मृत फेला परेको १० महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी नगरपालिका–२ की ३१ वर्षीया बिमा थापा मगर मृत फेला परेको १० महिनापछि उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय संजिव चौधरी र ३० वर्षीय जनक देउवा रहेका छन् । चौधरीलाई शनिबार नेपाल–भारत सीमा क्षेत्र त्रिनगरबाट पक्राउ गरिएको हो भने देउवालाई घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मगर ०८० मंसिर ६ गते सामुदायिक वनमा मृत फेला परेकी थिइन् । ‘प्रारम्भिक अनुसन्धानको क्रममा धनगढीस्थित जनक देउवाको घरमा दुबै जनाले ०८० कात्तिक २९ गते लागुऔषध सेवन गरेको खुल्न आएको छ,’ डिएसपी बोहराले भने, ‘त्यसपछि मगरलाई बोलाएर पनि लागुऔषध सेवन गरेको खुलेको छ । दुबै जनाले थापालाई कुटपिट गर्दै शारिरीक सम्बन्ध बनाएको पनि अनुसन्धानबाट खुलेको छ ।’  

थापा बेहोस भएपछि ३० कात्तिकमा उनलाई ओरोपी दुबै जनाले स्कुटरमा राख्दै धनगढी उपमहानगरपालिका–६ स्थित सरस्वती सामुदायिक वनमा फालेको अनुसन्धानले पुष्टि गरेको डिएसपी बोहराले बताए ।

‘घटनास्थलमा लागुऔषध सेवन गरी मृत्यु भएको बनाउने उदेश्यले शव नजिक केही मात्रमा लागुऔषधसमेत राखेको भेटिएको थियो,’ डिएसपी बोहराले भने, ‘मृतकको मोबाइल फोन आरोपी संजिव चौधरीले आफ्नो घरमा ल्याएर श्रीमतीलाई दिएको अवस्थामा बरामद गरिएको छ ।’

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update