Paschim Express
सुदूर पहाडमा क्षमताभन्दा बढी यात्रु बोक्दै सवारीसाधन, लाइसेन्स नभएका चालक चलाउँछन् अटो

डडेल्धुरा । भीमदत्त राजमार्ग भएर सुदूरपश्चिमका ७ पहाडी जिल्लामा चल्ने सवारी साधनले क्षतमाभन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको संयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्दा यस्तो पाइएको हो ।

केहीदिन अघि उक्त टोलीले भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डडेल्धुराको स्याउले बजार नजिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही सवारी चालकहरुले आवश्यक कागजपत्र ब्लूबुक, सवारीचालक अनुमतिपत्र, जाँचपास तथा रुट परमिट नबोकेकाे पाइएको प्रमुख जिल्ला अधिकारी(सिडियो) चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै केही सवारी साधनहरुमा स्विकृतिविना सपटप जडान भएको, ढुवानी पिकअप गाडीमा सिट जडान गरिएको र  भाडादर टाँस नगरेको समेत भेटिएको थियो ।  उनका अनुसार जिल्लामा सञ्चालित केही अटोरिक्सा चालकहरुसँग सवारीचालक अनुमतिपत्र नरहेको पाइएको, केही बस र माइक्रोबसमा सिट क्षमताभन्दा बढी यात्रुहरु रहेको, केही ढुवानीका सवारी साधनहरुले क्षमताभन्दा बढी ढुवानी गरेको समेत भेटिएको थियो । 

अनुगमनपछि सवारी चालक तथा धनीहरुलाई समयमै आवश्यक कागजातहरु नविकरण गरेर मात्र सवारीसाधन चलाउन, सिट क्षमताभन्दा बढी यात्रु नराख्न र लामो दूरीका सवारी साधनमा दुईजना सवारीचालक अनिवार्य रुपमा राख्न निर्देशन दिएको सिडियो न्यौपानेले बताए । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update