Paschim Express
सुदूरपश्चिमका क्रिकेट खेलाडीलाई तलब दिने तयारी

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास थालिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि उक्त समस्या समाधानका लागि पहल थालेको हो ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए । ‘केही प्रतियोगिता प्रदेशको प्रतिनिधित्व गरेर खेलेपछि अधिकांश क्रिकेट खेलाडी विभागीय टोलीमा जाने लहर नै छ,’ अध्यक्ष जोशीले भने, ‘उक्त समस्या समाधानका लागि र उत्कृष्ट खेलाडीलाई पनि सुदूरपश्चिम प्रदेशबाटै खेलाउन तलब दिने तयारी गरेका छौँ । पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ । अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले दिन्छ । असोजकै महिनाबाट १५ हजार रुपैयाँ तलब दिने हाम्रो योजना छ ।’ 

अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ । ‘सुदूरपश्चिममा रहेका विभिन्न व्यापारिक घरनाले सहयोगको आश्वासन दिनुभएको छ,’ अध्यक्ष जोशीले भने, ‘सोही प्रायोजनबाट खेलाडीलाई तलब दिएर क्रिकेट खेलेरै जीविका चलाउन सक्ने योजनासहित प्रादेशिक क्रिकेट संघ लागेको छ ।’ धनगढी नेपालमै क्रिकेटको शहरका रूपमा परिचित छ । सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले अहिले पनि नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलिरहेका छन् । 

यस्तै, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशका सबै जिल्लाको संयोजनमा फारवेस्ट क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने जनाएको छ । ‘एकेडेमी सञ्चालन गरेर राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ,’ प्रादेशिक अध्यक्ष जोशीले भने, ‘ग्रासरुटमा क्रिकेटको विकास गर्न विद्यालयस्तरीय १४ र १६ वर्षमुनिका पुरुष तथा महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्यालेण्डर पनि हामीले तयार गरेका छौँ ।’

अध्यक्ष जोशीका अनुसार फारवेष्ट लिग सञ्चालन गर्ने तयारमिा पनि प्रादेशिक क्रिकेट संघ जुटेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update