Paschim Express
साढे १३ करोडको ठेक्कापछि डडेल्धुरामा ‘व्यवस्थित बसपार्क’ निर्माण गर्न कसले रोक्दैछ ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क छैन । सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारीसाधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ ।

तर त्यहाँ सवारी साधन पार्किङका लागि निकै समस्या छ । सोही ठाउँमा सार्वजनिक कार्यक्रम पनि गर्ने परिपाटीका कारण थप सास्ती छ । सोही कारण जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाउनका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जेठमा बोलपत्र आह्वान गरेको थियो । कार्यालय प्रमुख रमेश थिङका अनुसार १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान भएकोमा घटाघटमा साढे १३ करोडमा ठेक्का स्विकृत भएको छ ।

उनका अनुसार १८ महिनामा काम सम्पन्न हुने गरि सदर भएको ठेक्का कालिका–मालिका–युपी जेभिले पाएको थियो । तर, बसपार्क निर्माणमा अहिले अवरोध खडा भएको छ। ‘बुहवर्षीय ठेक्कामार्फत डकले बसपार्क निर्माण गर्ने योजनाअनुसार ठेक्का प्रक्रिया अगाडि बढाएर सदर गरेका थियौं,’ कार्यालय प्रमुख थिङले भने, ‘तर अहिले आएर वन कार्यालयले बसपार्क निर्माणमा अवरोध गरेको छ । वनले मन्त्रिपरिषद्को निर्णय ल्याएपछि मात्रै बसपार्क निर्माणका लागि सहमति दिने बताइरहेको छ । त्यसैले ठेक्का स्विकृत भए पनि सम्झौता हुन सकेको छैन ।’

बसपार्क निर्माण हुने क्षेत्र सराउलीका घाणा सामुदायिक वन क्षेत्रमा पर्छ । बसपार्क निर्माणका लागि उक्त सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो ।

अमरगढी नगरपालिका मेयर डिल्लीराज जोशीका अनुसार उक्त क्षेत्रमा सामान्य झाँडी मात्रै छ । व्यवस्थित बसपार्क बन्ने तयारीमा रहेको अवस्थामा अवरोध हुँदा समस्या भएको मेयर जोशीले बताए । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update