Paschim Express
सुदूरपश्चिमका यी पालिका र वडामा हुनेछ मंसिर १६ गते उपनिर्वाचन

डडेल्धुरा । सुदूरपश्चिमका एक पालिका उपाध्यक्षसहित चार वडामा उपनिर्वाचन हुने भएको छ । गत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । जोशीको क्यान्सरका कारण निधन भएपछि उपाध्यक्षको पद रिक्त छ । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

यस्तै, एमालेबाट निर्वाचित बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको जेठ २०८० मा, कांग्रेसबाट निर्वाचित डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा, माओवादी केन्द्रबाट निर्वाचित दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको असार २०८० र कांग्रेसबाट निर्वाचित भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पुस २०८० मा निधन भएको थियो । चारवटै वडामा वडाध्यक्षको पद रिक्त छ । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त रहेकोले पाँच पदका लागि उपनिर्वाचन हुने छ । 

यस्तै, मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ ।

निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि उल्लेख गर्नुपर्ने छ ।

यस्तै दलको केन्द्रीय स्तर र प्रदेश स्तरको संगठनात्मक स्वरुप, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराउनुपर्ने आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ । दल दर्ताका लागि दिइएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत आवश्यक पर्ने छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update