Paschim Express
सुदूरपश्चिमका यी दुई जिल्लामा किन सञ्चालन भएनन् सुपथ मूल्य पसल ?

काठमाडौं । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशका सात जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। तर, प्रदेशका दुई पहाडी जिल्लामा सुपथ मुल्य पसल सञ्चालन नहुने भएका छन् ।  दसैं र तिहारलाई मध्यनजर गर्दै सञ्चालन हुने सुपथ मूल्य पसलहरु यसपटक डोटी र बैतडीमा सञ्चालन नहुने भएका हुन् ।

दुवै जिल्लामा रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले सुपथ मूल्य पसल चलाउन नसकेको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् ।

मंसिर ३ गतेसम्म सञ्चालन हुने पसलहरूमा आइतवारदेखि मूल्यसूची सहित सञ्चालनमा आइसकेका छन्। पसल सञ्चालन भएके ठाउँमा सुपथ मूल्य पसलबाट उपभोक्ताले चामलमा प्रति किलो ७ रुपैयाँ छुट पाउने बस्नेतले बताइन् । 

खाद्य तथा व्यापार कम्पनीमार्फत सरकारले यो वर्ष दुई किसिमको चामल सहुलियत मूल्यमा बिक्रीमा राखेको छ। कम्पनीले अरुवा मोटा चामल प्रति किलोग्राम ४६ रुपैयाँमा बिक्री गर्ने छ। मोटा चामलको बजार मूल्य ५३ रुपैयाँ प्रति किलोग्राम छ । त्यस्तै, स्टिम जिरा मसिनो चामलको बजार मूल्य ९० रुपैयाँ प्रति किलोग्राम रहेकोमा खाद्य कम्पनीले ८३ रुपैयाँ प्रति किलोग्राम मूल्य तोकेको छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update