Paschim Express
सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन तीन जनाको मृत्यु

धनगढी । सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ । कञ्चनपुरमा दुई र बाजुरमा एक गरी तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ ।

‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए । उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ ।’

यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो । बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बताए । बारीमा काम गर्ने क्रममा चट्याङ परेको हो ।

उता बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीलीपकुमार गिरीका अनुसार जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर आज विहान घटनास्थलमै मृत्यु भएको हो ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update