डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ । नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्ने तयारी भएको हो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरि सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरुलाई तालिम सञ्चालन गरिएको बताए ।जिल्लाका ७ स्थानीय तहका ५२ वडा कार्यालयले अब अनलाइनमार्फत सिफारिस गर्ने उनले बताए ।
अहिलेसम्म सबै वडा कार्यालयहरुले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए ।
यो प्रणाली लागू भएपछि नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ ।