Paschim Express
डडेल्धुरामा महिला भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरुस्कार ५१ हजार

डडेल्धुरा । डडेल्धुरामा महिला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जिल्ला भलिवल संघ डडेल्धुराको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

अमरगढी नगरपालिका–४ स्थित टुँडीखेलमा यही असोज २० र २१ गते प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ ।  नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार तथा जिल्लामा महिला भलिवल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको  संघका कार्यवाहक अध्यक्ष धर्मराज पन्तले बताए।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय हुने टिमले २५ हजार १ सय ११ र  तृतिय हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  अन्य विविध विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको पन्तले बताए । 

प्रतियोगितामा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुबाट जिल्ला स्तरको टिम तयार गरिने र आशन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराइने जिल्ला भलिबल संघ डडेल्धुराले जनाएको छ । प्रतियोगितामा डडेल्धुराका सात वटै पालिका बाट टिमहरु सहभागी हुने अपेक्षा गरिएको छ भने टिम दर्ता शुल्क ५ हजार तोकिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update