Paschim Express
डडेल्धुरा कारागारबाट ७ कैदीबन्दी रिहा

डडेल्धुरा । जिल्ला कारागार डडेल्धुराबाट सात जना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको हो ।

‘मूलुकी अपराध संहिता कार्यान्वय हुनु अगाडिका मुद्वामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ,’ उनले भने, ‘सोहीअनुसार १ जना ४० प्रतिशत र अन्य ६ जना ५० प्रतिशत कैद भुक्तानग गरेकालाई रिहा गरिएको छ ।’

कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक/एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए । उनीहरुलाई आफन्तको जिम्मा लगाउने कार्य भइरहेको पनि ओझाले बताए ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update