डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बस्ने ३५ वर्षीय खेमराज अवस्थी हुलाक कार्यालय डडेल्धुराका कर्मचारी थिए । सामान्य परिवारका अवस्थी घरखर्चका लागि भएपनि काम गर्नु पर्छ भनेर जागिरे भएका थिए । एक दिन उनको बारीमा तत्कालीन जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले एक कृषि पाठशाला सञ्चालन गर्यो । त्यसपछि उनले कार्यालय जानु भन्दा पहिले दुई घण्टा र कार्यालयबाट फर्केएपछि तीन घण्टा पाठशालामा कृषि शिक्षाका लागि समय दिन थाले ।
बारीमा तीनदेखि चार महिनाको बिचमा कृषि सहजकर्ता महेश्वरी भट्टको निगरानीमा राम्रो तरकारी उत्पादन भएको देखे । ‘तरकारी उत्पादन राम्रो भएको दिन त अचम्म लाग्यो, हाम्रो यो माटोमा काउली, बन्दा र आलु यति राम्रो हुने रहेछ’ अवस्थी सम्झन्छन्, ‘त्यो देखेर गाउँका धेरै मानिसहरु व्यावसायिक तरकारी उत्पादनमा लागेका छन् त्यसपछि मैले त सरकारी जागिर छोडिदिँए ।’
जागिर छोडेर कृषिमा लागेपछि उनले वार्षिक चारदेखि छ लाखसम्म आम्दानी कृषिजन्य उत्पादनबाट गरिरहेका छन् । पाठशालाबाट सिकेको ज्ञान उनले आफुमै सिमित राखेका छैनन् । ४५ स्थानमा सहजकर्ता भएर कृषक पाठशाला सञ्चालन गरेका छन् ।
ली–बर्डले उनलाई सुदूरपश्चिमको बझाङ र बाजुरा जिल्लामा समेत सहकर्ताको रुपमा पहिले लगेकाले थप कृषि क्षेत्रको अनुभव भएको छ ।
बीउमा गुणस्तर, रोग किरा सम्बन्धी ज्ञान, नयाँ प्रविधि, आधुनिकिकरण, गरेर खेतबारीमा देखाएपछि कृषक खेतीतर्फ आकर्षीत हुने गरेको उनको बुझाई छ ।
कृषक पाठशालामा सबै कृषकहरुले प्रयोगात्मक कक्षा जस्तै बीउदेखी बीउसम्म सिकाई निरन्तर गर्ने गरेका छन् ।
पाठशालामा सिकाए अनुसार कृषि उपकरणहरु कृषकलाई दिन नसकिएकाले अहिले यन्त्रीकरण हुन नसकेको उनले बताए । यन्त्र उपकरणहरु समेत अनुदानमा दिनु पर्ने माग उनको छ । उनी भन्छन्, ‘उपकरणहरु यसरी प्रयोग गर्नु पर्छ भनेर सिकाउछौं तर कृषकसँग हुँदैन ।’
खेमराज अवस्थी मात्र हैन् पाठशालाबाट बैतडीको सुर्नाया गाउँपालिका ६ बस्ने ५५ बर्षीय धौली बोहराले तरकारी खेती गर्न थालेको करिब २२ वर्ष भयो । करिब २२ वर्ष अहिले श्रीमान गुमाएकी धौलीको सामाजिक र आर्थिक साहारा ढलेको अनुभव व्यवसायी कृषि खेतीले परिवर्तन गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका ६ मोतीनगर बस्ने धौलीको जिवन धान्ने पेसा नै व्यावसायिक कृषि बनेको छ ।
हुन त उनले श्रीमान गुमाएपछि घर खर्च चलाउन र छोरालाई पढाउनका लागि कृषि कर्मबाहेक अरु थिएन् ।
नगद आम्दानीको स्रोत बन्द भएपछि खर्चका लागि सामान्य कृषि गर्दै आएकी धौलीको अहिले आम्दानीको मुख्य स्रोत नै कृषि खेती बन्नेको छ ।
बन्दा, काउली, सिमला मिर्ची, रायो, मुला फाउने कृषक बोहराको खेतमा अहिले ग्रीन क्राउन जातको बन्दाले खेत नै हरियाली भएका छन् ।
जलवायु उत्थानशिल कृषि खेती अबलम्बन गर्नाले समयमै उत्पादन गरेर बजारमा ल्याउन पाएपछि उनले बजार मात्र पाएन मुल्य पनि सोचे जस्तै पाएकी छन् ।
अहिले सुर्नया गाउँपालिका ६ मोतीनगर र मुसे गाउँका ४८ जना महिला जलवायु उत्थानशिल कृषि पाठशालाबाट कृषि उत्पादन बढाउन तथा कसरी जैविक विषादीबाटै रोगकिरा न्युनिकरण गर्न सकिन्छ भन्ने ज्ञान लिएका छन् ।
कृषि प्राविधिकले खेतबारीमै नमुना उत्पादन गरेर उत्पादनमा वृद्धी गरेर देखाएपछि धौलीसहितका ४८ महिला कृषक हर्षित छन् । यहाँका महिला कृषक अहिले जलवायु उत्थानशिल कृषितर्फ अग्रसर छन् ।
महिला उद्यमी समुह नै गठन गरेर जिवीकोपार्जनका हरेक पाटामाथि उनीहरुले छलफल समेत गरिरहेका हुन्छन् ।
कृषकका लागि कृषि पाठशाला एक बिद्यालय शिक्षा जस्तै बनेको छ । बदलिँदो मौसम तथा हावापानी सुहाउँदा परिवर्तित जलवायुसंग अनुकूलतिनहुन सक्ने तरकारी खेती गर्न नसक्दा यहाँका कृषकले कहिले मुल्य नपाउने समस्या त कहिले बारीमै कृषि उपजहरु कुहिने, रोगकिराले सखाप पर्ने समस्या भोग्दै आएका थिए ।
तर अहिले माटो सुहाउदो मौसम अनुसारको खेती समयमै लगाउन सिकेपछि व्यवसायीक कृषक बन्न सहज भएको कृषक खगेश्वरी भट्टले बताइन् ।
उनले भनिन् ‘बन्दा लगाउने समय नभइ कसरी बन्दा लगाउने उत्पादन हुन्छ की हाम्रो खेतहरु बाझोै हुन्छ भन्ने मनमा डर सधै हुन्थ्यो, अहिले राम्रो उत्पादन दिएपछि पाठशालाकै सिकाईहरु लागु गरी खेतीपाती गर्दै आएका छौँ ।’
वमन्स बैंक र एफसिएको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपालले महिला, दलित, अपांगता भएका व्यक्ति तथा पिछडिएका लक्षित वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर जलवायुमैत्री कृषि खेतीमार्फत जिविकोपार्जनतर्फ आर्कषण बढाएको कृषकहरुको भनाइ छ ।
दुई महिला समूहका ४८ कृषकलाई अहिले ग्रीनक्राउन जातको बन्दा फलाउन समेत सम्पुर्ण तरिकाहरु जलवायुमैत्री रहेको छ । प्लाष्टीक मल्चिङले बाली नकुहिने तथा घाँस नउम्ररने रोगकिराबाट बचाउन सकिने कृषि प्राविधिक दिपेश धामीले बताए ।
एफसिएको सहयोगमा साडा नेपालले बैतडीको सिगास र सुर्नया गाउँपालिकाका दुई स्थानमा कृषकलाई खेतबारीमै पाठशालमा मार्फत आधुनिक तथा जलवायु उत्थानशिल प्रविधिहरु सिकाएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्ना पाँचवटै वडामा कृषक पाठशालामार्फत कृषि शिक्षा दिइरहेको कृषि अधिकृत योगेन्द्र देउवाले बताए ।
राम्रो उत्पादनको नमुना देखेपछि मात्र कृषकले मकै, धान, गहुँ जस्ता परम्परागत खेती छोडेर नगदेबालीतर्फ आकर्षीत हुने देखिएको कृषि अधिकृत देउवाले बताए ।
प्रत्येक वर्ष कृषि पाठशालामार्फत कृषकलाई नयाँ प्रविधि सिकाउने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले बताए ।
कृषि ज्ञान केन्द्र र पालिका स्तरमै अल्झिएका कृषि प्रसार सेवालाई भुइँ किसानसम्म पुर्याउन साथै किसान तहमा रहेका परम्परागत ज्ञानको उपयोग गर्दै पर्यावरण मैत्री दिगो कृषि अभ्यासमा किसान स्वयंसेवकको अगुवाइ नयाँ आयामको सुरुवात गरेको कृषि ज्ञान केन्द्र प्रमुख पनेरुले बताए ।
कोठाबाहिर,खेतीपातीमा संलग्न किसानका व्यावहारिक सिकाइ नै सबै भन्दा महत्वपूर्ण सिकाइ हो। खेतीमा सर्मपतीत किसान नै सबै भन्दा विद्वान् गुरु हुन् भन्ने मान्यतामा आधारित कृषक पाठशालाको सुरुवात गरिएको छ ।
कृषक पाठशाला कृषि प्रसारको रुपमा स्थापित
कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो । खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ ।
“खोजमा आधारित” सिकाइको माध्यमबाट र वयस्क शिक्षा सिद्धान्त पालना गरेर कृषक पाठशाला सञ्चालन हुने गर्दछ। इन्डोनेसियामा सन् १९८९ मा किसानको खेतमा आयोजना भई एकीकृत रोग कीरा व्यवस्थापनको तालिम सञ्चालन गरेर सुरु भएको कृषक पाठशाला नेपालमा सन् १९९७ मा धानमा लाग्ने खैरो फड्के कीरा व्यवस्थापनबारे सिकाउन सञ्चालन भएको कृषि बिज्ञ डा. दिलबहादुर बिष्टले भनाइ छ ।
किसानको अगुवाइ तथा सहजकर्ताको निगरानीमा उनीहरूकै खेतबारीमा एकीकृत रोग कीरा व्यवस्थापनबारे तालिमबाट सुरुवात भएको कृषक पाठशाला अहिले जलवायु, पोषण, स्वास्थ्य, लैङ्गिकता, महिला सशक्तीकरण, प्रकोप जोखिम न्यूनीकरण, उद्यमशीलता जस्ता कृषि, वातावरण, खाद्य, सामाजिक मूल्य मान्यता तथा आर्थिक विकासका विभिन्न पक्षसँग सम्बन्धित विषयमा केन्द्रित भई सञ्चालन गर्ने गरिएको छ ।
कृषि अनुसन्धान केन्द्र तथा कृषि कार्यालयहरूमा किसानका लागि उपयुक्त भनी विकसित वा भित्रिएका विधि प्रविधि साँच्चै किसानको रुचि तथा आवश्यकताअनुरूप भए÷नभएको परीक्षण गर्न, नतिजाअनुरूप आफ्नो भूगोल, समाजिक तथा आर्थिक अवस्थाअनुसार उपयुक्त र दिगो प्रविधि छनोट गर्न र विस्तार गर्न पाठशाला प्रयोग हुन थालेको छ ।