Paschim Express
डडेल्धुरामा स्वास्थ्यको वार्षिक समिक्षा सकियो, अजयमेरु गाउँपालिका भयो उत्कृष्ट

डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समिक्षा र योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 

गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी जिल्ला सदरमुकाममा सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शनिबारदेखि सुरु भएको कार्यक्रममा आइतबार समापन भएको हो । समापन कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट काम गर्ने पालिकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले बताए । स्वास्थ्यको मूल्यांकनमा अजयमेरु गाउँपालिका प्रथम भएको छ । अमरगढी नगरपालिका दोस्रो र गन्यापधुरा गाउँ पालिका तेस्रो भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले सम्मानपत्र हस्तान्तरण गरे ।

यस्तै साझेदार कार्यालय र संस्थालाई पनि सम्मान गरिएको छ । डडेल्धुरा अस्पताल, आयुर्वेदिक अस्पताल, युनिसेफ, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन र त्रिशुली प्लसलाई सम्मान गरिएको हो । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update