Paschim Express
भारतमा मजदुरी गरेर फर्किरहेका बेला महाकालीमा खसेका धामी अझै भेटिएनन्

बैतडी । महाकाली नदीमा लडेर  बेपत्ता भएका मजदुर चारदिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

शुक्रबार बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका ८ झुलाघाटस्थित बसपार्क नजिकैबाट  महाकालीमा लडेर बेपत्ता भएका थिए ।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका हुन् ।

बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। अमरको अवस्था अज्ञात छ ।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै   खोजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ ।

लगातारको वर्षाले महाकालीको बहाव बढ्नुका साथै पानी धमिलो भएकाले  खोजतलासमा समस्या भएको प्रवक्ता ढुंगानाले बताए ।

भारतको पिथौरागढमा मजदुरी गरेर  दशैं मनाउन घर फर्किरहेका बेला  महाकालीमा लडेर बेपत्ता भएपछि अमरको घरपरिवार शोकमा डुबेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update