Paschim Express
सुदूरपश्चिमका सबै वडामा रोजगारी दिने भन्दै १० लाख ठगेपछि...

काठमाडौं । रोजगारी दिने नाममा सुदूरपश्चिमका ५६ जनालाई ठगी गरेको खुलेको छ । सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालि सञ्चालन गरेका ठग सञ्चालक अमरसिंह धामी भने अहिले फरार छन् ।

सुदूरपश्चिमका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो ।  विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो । कर्मचारीका लागि पोसाक, ल्यापटप र कर्मचारीको बीमा गर्ने भन्दै रकम सङ्कलन गरिएको हो । यहाँका ५६ जनाबाट झन्डै १० लाख रुपैयाँ सङ्कलन गरेका केन्द्र सञ्चालक धामी अहिले फरार छन् । उनी २०८० असोज ९ गतेबाट सम्पर्कमा नआएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कैलाली निवेदन नै दिएका छन् ।

पीडितहरूले उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालिका सञ्चालक धामीले ठगेको भन्दै निवेदन दिएका हुन्। उनीहरूले केन्द्रमा रोजगारीका लागि फारम नै भरेर अन्तर्वार्तासमेत दिएका थिए । तर, अहिले सञ्चालक फरार हुँदा पीडितले ठगिएको चाल पाएका हुन् । धामीको स्थायी ठेगाना कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ हो ।

धामीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीले प्रहरीलाई निर्देशन दिएको छ । तर, धामीलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा भने लिन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update