डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–२ गांखेत पुर्ख्यौली घर भएका चिरञ्जीवी मल्लको परिवार हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा बस्दै आएको थियो । चिरञ्जीवी अध्ययका लागि काठमाडौंमा थिए । आउँदै गरेको दसैं मान्न उनी घर फर्किरहेका थिए । त्यसका लागि उनी शुक्लाफाँटा नगरपालिका–७ कै २२ वर्षीया दीपक बोहोरासँग मोटरसाइकलमा कञ्चनपुर आइरहेका थिए ।
तर, घर पुगेर दसैंमा टीका थाप्ने उनको धोको कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्कामा अस्ताएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा उनी सवार बा९५प ९२५२ नम्बरको मोटरसाइकल जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीले चलाएको से६प ६२७९ मोटरसाइकलसँग ठोक्किएको थियो ।
उक्त दुर्घटनामा निर्मल चौधरी र चिरञ्जीवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चिरञ्जीवीसँगै आएका दीपक घाइते अवस्थामा छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।