Paschim Express
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update