Paschim Express
दसैँको चहलपहल बढ्यो, पश्चिमी नाका हुँदै भारतबाट फर्कनेको ओइरो

धनगढी । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ । कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ मनाउन धमाधम घर फर्किन थालेका हुन् ।

धान रोपाइँ सकेर कैलालीको कैलारी गाउँपालिका–२ का बिन्दुराम चौधरी भारतको हिमाञ्चल प्रदेशको सिमला पुगेका थिए । तीन महिना स्याउ टिप्ने काम गरेर केही रकम आर्जन गरेका उनी दसैँ मनाउन घर फर्केका छन् ।

बेरोजगारीका कारण भारत पसेका उनी घरको गर्जो टार्न केही कमाइ गरेर फर्किएको सुनाउँछन् । बिन्दुरामा मात्रै होइन, दसैँको आगमनसँगै कामको सिलसिलामा घरभन्दा बाहिर गएका नेपाली कोही घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन् ।

घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् । सामान लिएर आउँदा जाँचका नाममा यता र उता फालिदिने गरेको कञ्चनपुरका राकेश नेपाली बताउँछन् । सीमा नाकामा गरिने व्यवहारले खिन्न हुनुपरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update