Paschim Express
डडेल्धुरामा चाडपर्व लक्षित सुरक्षा योजना लागू, साढे तीन सय बढी प्रहरी परिचालन

डडेल्धुरा । डडेल्धुरामा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाएर लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नका लागि सुरक्षा योजना बनाएर लागू गरिएको हो ।

भर्खरै जिल्लाको कमाण्ड सम्हाल्न आएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठले चाडपर्वका लागि जिल्लामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गर्दै लागू गरेका छौं,’ उनले भने, ‘चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् । हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयको भन्दा थप प्रहरी परिचालन गरेका छौं ।’ 

 उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चाडपवै मनाउन् क्रममा विभिन्न विषयमा ध्यान दिन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update