Paschim Express
सुदूरपश्चिमका २३ खेलाडी बिक्री भए एनपीएलको अक्सनमा, कसले कति पाए ?

डडेल्धुरा । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल एक सय ६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका छन् । ८० खेलाडीमध्ये सुदूरपश्चिम घर भएका २३ जना अटाएका छन् ।

कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले अक्सनमार्फत १० खेलाडी खरिद गरेको छ । उसले रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित कुमार ३ लाख र गौतम केसीलाई दुई लाखमा खरिद गरेको छ । ऐरी, रावल र बोहरा सुदूरपश्चिमका हुन् । 

यस्तै सोमपाल कामी मार्की रहेको कर्णालीमा गुल्सन कुमार झा १५ लाखमा खरिद भएका छन् । नन्दन यादव ११ लाख, मौशम ढकाल १० लाख, अर्जुन घर्ती १० लाख, देव खनाल १० लाख, रित गौतम ५ लाख, भुवन कार्की ५ लाख दीपेन्द्र रावत ३ लाख, दीपक डुम्रे ३ लाख र युनिसविक्रम सिंह दुई लाखमा खरिद भएका छन् । कार्की सुदूरपश्चिमका हुन् ।

लुम्बिनी लायन्सले पनि १० खेलाडी खरिद गरेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले सूर्य तामाङ १५ लाख, विवेक यादव १५ लाख, सन्दीप जोरा १५ लाख, आशुतोष घिरैया १० लाख, तिलकराज भण्डारी १० लाख, दुर्गेश गुप्ता ८ लाख, अर्जुन साउद ५ लाख, दीनेश अधिकारी २ लाख ७५ हजार, अभिषेक गौतम २ लाख र विकास आग्रीलाई २ लाखमा खरिद गरेको छ । जोरा, साउद र आग्री सुदूरपश्चिमका हुन् । 

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी हुन् । उसले आरिफ शेख १५ लाख, अभिनाश बोहरा १२ लाख, विनोद भण्डारी १० लाख, ईशान पाण्डे ९ लाख ५० हजार, अर्जुन कुमाल ७ लाख ५० हजार, खड्क बोहरा ५ लाख, नरेश बुढाऐर ५ लाख, भोजराज भट्ट ४ लाख ५० हजार, अमित श्रेष्ठ ३ लाख ३५ हजार र नरेन साउद २ लाखमा खरिद भएका छन् । भण्डारी, बोहरा, बुढाऐर, भट्ट र साउद सुदूरपश्चिमका हुन् । 

विराटनगर किंग्सका मार्की खेलाडी सन्दीप लामिछाने छन् । उसले लोकेश बम १५ लाख, प्रतिश जि.सी १५ लाख, बसिर अहमद १० लाख, राजेश पुलामी मगर ५ लाख, जितेन्द्र मुखिया ५ लाख, अनिल खरेल ५ लाख, दीपक बोहरा ५ लाख, सुभाष भण्डारी २ लाख ५० हजार, नरेन भट्ट २ लाख र मिर्नल गुरुङलाई २ लाखमा खरिद गरेको छ । बम, बोहरा र भट्ट सुदूरपश्चिमका हुन् । 

आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्सले पनि १० खेलाडी अक्सनमार्फत अनुबन्ध गरेको छ । ललित राजवंशी १५ लाख, अनिलकुमार साह १५ लाख, रुपेश सिंह १० लाख, आकाश त्रिपाठी १० लाख, किशोर महतो १० लाख, शुभ कंस्कार ५ लाख, शेर मल्ल ५ लाख, हेमन्त धामी ५ लाख, अरनिकोप्रसाद यादव २ लाख ५० हजार र तुलबहादुर थापालाई २ लाखमा खरिद गरेको छ । मल्ल र धामी सुदूरपश्चिमका हुन् ।

काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसी हुन् । उसले पनि १० खेलाडी अक्सनमार्फत अनुबन्ध गरेको छ । उसले साहब आलम १५ लाख, भीम सार्की १५ लाख, राशिद खान १० लाख, शंकर राना नौं लाख ५० हजार, दीपेश कँडेल ५ लाख, सुमित महर्जन ५ लाख, कृष्ण कार्की ५ लाख, विवेक केसी २ लाख, प्रतिक श्रेष्ठ २ लाख र राजु रिजालाई दुई लाखमा खरिद गरेको छ । सार्की र रिजालको घर सुदूरपश्चिम हो । 

पोखरा एभेन्जर्सले पनि १० खेलाडी खरिद गरेको छ । कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराले सागर ढकाल १५ लाख, आकाश चन्द ११ लाख ५० हजार, किरणकुमार ठंगुन्ना १० लाख, नारायण जोशी १० लाख, विपिन खत्री १० लाख, दिलिप नाथ १० लाख, तृतराज दास ५ लाख, सुनाम गौतम ५ लाख, दीनेश खरेल २ लाख र अमृत गुरुङलाई २ लाखमा खरिद गरेको हो । चन्द, ठगुन्ना, जोशी र नाथ सुदूरपश्चिमका हुन् । अब प्रत्येक टिमले चार जना बिदेशी तथा एकजना स्थानीय खेलाडी अनुबन्ध गर्नुपर्ने छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update