डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाका पहिरो र बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ बोरगाउ र उल्लानीमा पहिरो तथा बाढी प्रभावित १५ परिवारलाई राहत वितरण गरिएको हो ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्य र अक्सफाम नेपालको सहयोगमा सञ्चालित आपतकालिन प्रतिकार्य परियोजनामार्फत राहत सहयोग गरिएको हो । चामल, दाल, नुन, तेल, त्रिपाल, बाल्टीन एवं विभिन्न सरसफाईका सामग्रीसहित झोला हस्तान्तरण गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले जानकारी दिए ।
आलिताल गाउपालिका वडा नम्बर २ का अध्यक्ष प्रमोद मल्ल, कार्यपालिका सदस्य, परियोजनाका कर्मचारी र स्थानीयको उपस्थितिमा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
भदौ २७ र २८ गते परेको अविरल वर्षाका कारण बोरगाउँको माथिबाट पहिरो खसेको थियो भने र दहगाडमा आएको बाढी उल्लानी लगायतका बस्ती पसेको थियो ।