Paschim Express
सञ्चालनमा नआउँदै तोडफोड भयो अत्तरियाको प्रदर्शनी बजार

कैलाली । कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्कालगायत समूहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोजक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले दावी गरेकाे छ ।

‘यसपालिको दसैं तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज मंगलबारदेखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ ।

दसैं तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो । तर सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको छ ।

यस विषयमा आफूलाई कुनै जानकारी नभएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए । उनले भने,’यस्तो बजार आयोजना हुन दिनुपर्छ। उद्योग वाणिज्य संघ अत्तरियाले यसमा कुनै अवरोध गरेको छैन र गर्ने पनि छैन ।’

विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम नै तय भइसकेको अवस्थामा स्टल तोडफोड गर्ने काम भएको हो ।

प्रवर्द्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने आयोजकले जनाइएको छ ।

स्टलहरु निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइनेछ। कार्तिक १७ गते सम्म सञ्चालन हुने प्रवर्धन बजारमा सुदूरपश्चिमका उत्पादनसँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update