Paschim Express
बडादसैँको सातौँ दिनः घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादसैँको सातौँ दिन आज नवदुर्गा स्थापना गरिएको स्थान तथा दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गर्ने प्रचलन छ ।

आजै हनुमानढोका दरबारको दसैँघरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जनाले र त्यहाँबाट काठमाडौंसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

बडादसैँको सातौँ दिन आज नवदुर्गाको सातौँ स्वरुप कालरात्रि देवीको पूजा आरधना गरिन्छ । यी देवीको रङ कालो छ भने तीनवटा आँखा छन् । कालरात्रि देवीको गलामा विद्युत्‌को अद्भुत माला हुन्छ । 

यिनका चार हातमध्ये एक हातमा खड्ग, दोस्रो हातमा शस्त्र, तेस्रो हात वरमुद्रा र चौथो हात अभयमुद्रामा हुन्छ । गधाको वाहनमा सवार कालरात्रि देवीले सधैैँ भक्तहरूको कल्याण गर्छिन् भन्ने मान्यता छ ।

यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भन्ने विश्वास छ । देवीले कालरात्रिको रूप लिएर सबै असुर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस दिनलाई लिइन्छ । माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ ।

शत्रु र विरोधीलाई नियन्त्रित गर्न कालरात्रिको पूजा गर्नु शुभ मानिन्छ भने भय र दुर्घटनाबाट बचाउनुका साथै नकारात्मक ऊर्जाको असरसमेत नहुने जनविश्वास छ । 

माता कालरात्रिलाई रातरानीको फूल अर्पित गर्नु शुभ मानिन्छ भने उनको प्रिय रङ रातो हो । कालरात्रिको अक्षता, फूल, धुप, गन्धकले पूजा गरेर विधिपूर्वक मन्त्रोच्चारण गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update