Paschim Express
डडेल्धुरामा भित्र्याइयो फूलपाती (तस्बिरहरु)

डडेल्धुरा । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व डडेल्धुरामा पनि घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ । 

यस्तै डडेल्धुरामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । अर्जुन बाण गण दह व्यारेक डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराले सयुक्त रुपमा जिल्ला सदरमुकामा रहेको टुडिखेलमा शास्त्रीय विधिअनुसार पूजा गर्दै आआफ्नो कार्यालयको दसैँ घरमा फूलपाती भित्र्याएका हुन् । 

सो क्रममा बली चढाएर हर्षबढाइँ पनि गरिएको थियो । यस्तै टुडिखेलमा भएको कार्यक्रममा सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने लगायतको पनि उपस्थिति थियो । सुरक्षा निकायमा फूलपातीका दिन प्रकृतिको पूजा गर्ने चलन रहेको छ । नेपाली सेनामा भने पृथ्वीनारायण शाहले गोरखा दरबारबाट हनुमान ढोकामा फूलपाती भित्र्याएपछि उहाँका सम्पूर्ण मनोकामना पूरा भएको तथा देशवासी पनि खुसी भएपछि फूलपाती भित्र्याउने क्रम सुरु भएको हो । 

No description available.

No description available.

No description available.

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update